तपाईँ सुन्दै हुनुहुन्छः

पुल अलपत्र हुँदा स्थानीयलाई सास्ती

नवलपरासी  । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका निर्माणाधीन पुलको कामले गति नलिँदा स्थानीयहरूले सास्ती खेप्नु परेको छ । 

रामग्राम नगरपालिका १५ घिनहाँ र डिघवल जोडन तुरिया खोलामा निर्माण भइरहेको पक्की पुलको डिजाइन फेल हुँदा  र ठेकदारको चरम ढिलाइका कारण स्थानीयहरूले सास्ती खेप्नु परेको हो । 

पुल निर्माणका लागि सडक पूर्वाधार विकास कार्यालय मणिग्राम,रुपन्देहीले ठेक्का आव्हान गर्दा एम एस सुगम ओम इन्फ्राटेक जेभीले ८ करोड ७९ लाख ९५ हजार ४१९ रुपैयाँमा ठेक्का लिएको थियो । 

३० महिनामा सम्पन्न गर्नु पर्ने उक्त पुलको निर्माणका लागि दुवै पक्षबीच २०७७ वैशाख १ गते सम्झांैता भएको थियो । 

सम्झौता अनुसार पुल निर्माण सुरु गरेपनि पुल निर्माण हुँदै जाँदा नदीमा सिल्टेशन बढ्दै नदीको सतह माथि उठेपछि पुल निर्माण रोकिएको थियो ।  

त्यतिबेलाको डिजाइनमा पुलको उचाई नदीको वर्तमान अवस्था हेर्दा उचाई कम रहेकाले वर्षाको समयमा पानीको बहाव पुलमाथिबाट नै बहने देखिने हुँदा पुलको डिजाइन फेल भएको ठेकदार पक्षको दाबी छ । अधुरो पुल पुनः निर्माणका लागि प्राविधिक टोलीले उक्त पुरानो डिजाइन परिवर्तन गरि हाल नयाँ डिजाइन तयार पारिसकेका छन् । 

पुलको नयाँ डिजाइन  अनुसार पुलको उचाई थप २ मिटर उठाइएको सडक पूर्वाधार विकास कार्यालयका इन्जिनियर गोपी राज पुनमगरले जानकारी दिनुभयो ।  उहाँका अनुसार योजनाको म्याद थप गरि ठेकदारलाई पुसबाट अधुरो काम पुरा गर्ने गरी सम्पर्कमा ल्याए पनि ठेकेदारले पुल निर्माणमा कुनै चासो दिएका छैनन् । 

निर्माणाधीन पुल सम्पन्न भएमा कुईया, बडगों, घिनहा, पण्डितपुर लगायतका आधा दर्जन बस्तीका बासिन्दाहरू प्रत्यक्ष लाभान्वित हुने छन् । समयमै पुल नबन्दा बिरामी, गर्भवती महिलालाई उपचारका लागिसमेत लामो दुरी तय गर्नु पर्दा परिरहेको स्थानीय राम किसुन सहानीले गुनासो गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button