तपाईँ सुन्दै हुनुहुन्छः

अछामका पाँच पालिकामा परिवार नियोजन शिविर हुने

अछाम । अछामका ५ वटा स्थानीय तहमा निःशुल्क परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुने भएको छ ।

स्वास्थ्य कार्यालय अछामको आयोजनामा फागुन २९ गतेदेखि चैत ३ गतेसम्म निःशुल्क परिवार नियोजनको स्थायी बन्ध्याकरणमा पुरुषहरूका लागि भ्यासेक्टोमी र महिलाहरूका लागि मिनिल्याप शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनक राज ढुङ्गानाले बताउनुभयो । शिविरमा सन्तानको रहर पुगेका महिला र पुरुष दुवैले सेवा लिनसक्ने स्वास्थ्य कार्यालय अछामले जनाएको छ।

स्वास्थ्य कार्यालयका अनुसार ढकारी गाउँपालिकाको ढकारी स्वास्थ्य चौकीमा यही फागुन २९ गते शिविरको आयोजना हुनेछ।

यस्तै तुर्माखाँद गाउँपालिकाको तुर्माखाँद स्वास्थ्य स्वास्थ्य चौकीमा फागुन ३० गते, मङ्गलसेन नगरपालिका स्थित जिल्ला अस्पताल अछाममा चैत १ गते, रामारोशन गाउँपालिकाको सान्तडा स्वास्थ्य चौकीमा चैत २ गते र चौरपाटी गाउँपालिकाको चौरमाण्डु आधारभूत अस्पतालमा चैत ३ गते निःशुल्क परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिने स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button