झापामा बन्द गराउँदै हिँड्ने पाँच बन्दाकर्ता पक्राउ, बन्दको आंशिक प्रभाव

भद्रपुर, झापा । कोसी प्रदेश नामाकरण खारेजीको मागसहित झापामा बन्द गराउँदै हिँड्ने पाँचजना बन्दाकर्ता पक्राउ परेका छन् ।
स्कुटरसहित पाँचजना बन्दकर्तालाई आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्लाको बिर्तामोडबाट तीनजना र काँकडभिट्टाबाट दुईजनालाई पक्राउ गरिएको प्रवक्ता डिएसपी खगेन्द्र रिजालले जानकारी दिनु भयो ।
पक्राउ पर्नेमा जनता समाजवादी पार्टीका प्रदेश सदस्य गौरीमान राई, संघीय लिम्बुवान पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वाका छोरा साम पालुङ्वा, आदिवासी जनजाति महासङ्घका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, पवन मेचेलगायत रहेको आदिवासी जनजाति महासङ्घका जिल्ला अध्यक्ष पाण्डवलाल चौधरीले बताउनु भयो ।
विभिन्न राजनीतिक दल र जातीय सङ्गठनहरूले झापासहित पूर्वका १४ जिल्लामा आज बन्दको आव्हान गरेका छन् ।
गत फागुन १७ गते प्रदेश १ लाई कोसी प्रदेश नामकरण गरिएसँगै त्यसको विरोधमा राजनीतिक दल र जातीय सङ्गठनहरू उत्रिएका हुन् । छ वटा राजनीतिक दल र ३४ वटा जातीय सङ्गठनले शनिवार साँझ झापाको बिर्तामोडमा कोसी प्रदेश खारेजीको माग गर्दै राँके जुलुस प्रदर्शन गरेका थिए ।
राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, कोचिला सङ्घर्ष समिति, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय समिति लोसपा र किराँत लिम्बुवान प्रदेश नामाङ्कन अभियानबीच हिजो पार्टी एकीकरण भएसँगै आन्दोलनका कार्यक्रम घोषणा गरिएको थियो ।
बन्दका कारण यातायातका ठूला साधनहरू चलेका छैनन् भने साना सवारी आंशिक रुपमा चलेका छन् । त्यस्तै, बजार पनि आंशिक रुपमा खुलेका छन् ।








प्रतिक्रिया राख्नुहोस्