तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाद्वारा ६ सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

काभ्रेपलाञ्चोक । दक्षिण कोरियामा सन २०११ मा स्थापना भएको काभ्रेपलान्चोक सम्पर्क समिति दक्षिण कोरियाले जिल्लामा रहेका १३ वटा स्थानीय तहका सरकारी तथा सामुदायिक गरि ३५ वटा विद्यालयमा अध्ययनरत करिब ६ सय जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

काभ्रेपलाञ्चोक सम्पर्क समिति दक्षिण कोरियाका निवर्तमान अध्यक्ष सानु लामाले दिनुभएको जानकारी अनुसार कोरियामा कार्यरत काभ्रेपलाञ्चोक जिल्लाका युवाहरूले सङ्कलन गरी जम्मा गरिएको रकमबाट काभ्रेपलाञ्चोक सम्पर्क समिति दक्षिण कोरियाले १३ वटै स्थानीय तहका ३५ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

काभ्रेपलाञ्चोक जिल्लाका ७ वटा गाउँपालिकामध्ये प्रत्येक गाउँपालिकाबाट ३/३ वटाको दरले विद्यालय छनोट गरि, जिल्लाको तुलनात्मक रुपमा सुगम रहेको ३ वटा नगरपालिकाबाट १/१ वटा मात्र विद्यालय छनोट गरेको थियो । बाँकी २ वटा नगरपालिकाबाट भने २/२ वटा विद्यालय छनोट गरि शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

जिल्लाभर शैक्षिक अभियानको रुपमा सबै गाउँ तथा नगरसम्म पुगेर निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षाका लागि सहयोग र सहकार्य गर्न पाउँदा आफूहरू गौरवान्वित महसुस भएको काभ्रेपलाञ्चोक सम्पर्क समितिका अध्यक्ष प्रकाश योन्जनले बताउनुभयो ।

काभ्रेपलाञ्चोक जिल्लामा छनोटमा परेका प्रत्येक विद्यालयबाट न्यूनतम १५ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरू छानिएका थिए । प्रति विद्यार्थीलाई एक ओटा झोला, पाँच कापी, एक क्यालकुलेटर, एक जियोमेट्री बक्स, एक ड्ट्पेन र दुई पेन्सिल वितरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button