‘अहिले गाउँगाउँमा सिंहदरबारको अवधारणा अघि बढेको छ’

जुम्ला । नेकपा (एमाले)का केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले एमालेसँग विकास निर्माणका काममा प्रतिस्पर्धा गर्न कसैले प्रतिस्पर्धा गर्न नसक्ने बताउनुभएको छ ।
मिसन ग्रासरुट अभियान अन्तर्गत जुम्लाको तातोपानी–४, हाकुमा आयोजित कार्यकर्ता भेलामा उहाँले विकास निर्माणका काममा प्रतिस्पर्धा गर्न कसैले प्रतिस्पर्धा गर्न नसक्ने उल्लेख गर्नुहुँदै विकास निर्माणका एजेन्डामा प्रतिस्पर्धा गर्न सबैलाई चुनौती दिनुभयो । “हामीले अघि सारेका विकास र समृद्धिलाई पछि पार्ने गरी कुनै कार्यक्रम ल्याउनुस्, त्यसपछि हामी पनि मानौँला ।”, उहाँले भन्नुभयो ।

उहाँले आफ्नो पार्टी सरकारमा हुँदा गाउँगाउँमा पठाउन थालेको बजेटकै निरन्तरताका कारण अहिले गाउँमा रकम आउन थालेको भन्नुहुँदै अहिले गाउँगाउँमा सिंहदरबारको अवधारणा अघि बढेको बताउनुभयो । उहाँले एमालेले गाउँलाई प्राथमिकता दिने, पिछडिएको क्षेत्रलाई मूल प्रवाहमा समावेश गर्ने वातावरण बनाउने, सबै क्षेत्रको समुचित विकासका लागि कदम चाल्ने र जनतालाई मजबुत बनाउने पार्टी भएको पनि बताउनुभयो ।
तातोपानी गाउँपालिका–६ का हाकु, गौतमबाडा, गिडीखोला, नियापानी, पायाँबाडा र पत्थेनीका अगुवा कार्यकर्ता सहभागी रहेको उक्त कार्यक्रममा जुम्लाका अध्यक्ष शान्तिलाल महत, प्रदेश कमिटी सदस्य द्वय शान्ता शाही र मेनका पछाई, जिल्ला उपाध्यक्ष सुरतबहादुर शाही, सचिव धनकृष्ण पाण्डे, प्रदेश प्रतिनिधि नारायणी चौलागाईं, सदस्यहरू पदम खत्री, चन्द्रलाल न्यौपाने, गुम्ब डाँगी, प्रदेश सल्लाहकार कमिटी सदस्य मोतीराम नेपाली, वडाध्यक्ष अमर रोकाय, पालिका कमिटी अध्यक्ष पूर्ण पाण्डेलगायतले आफ्नो भनाई राख्नुभएको थियो ।

सो अवसरमा माओवादी परित्याग गरी लछु सार्की र मन्सुरे सार्की एमालेमा प्रवेश गर्नुभएको छ ।
कार्यक्रममार्फत सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणलाई अभियानकै रुपमा अघि बढाउन टोल टोलमा जिम्मेवारी बाँडफाँट गरिएको छ । आठ वटा वडा रहेको तातोपानीमा केन्द्रीय प्रतिनिधि रिजालको उपस्थितिमा चार वटा वडामा कार्यक्रम सम्पन्न भएको छ भने चार वटा वडा बाँकी छन् ।








प्रतिक्रिया राख्नुहोस्