साँफेबगर नगरपालिकाले आफ्नै नगर प्रहरी राख्ने

अछाम । अछामको साँफेबगर नगरपालिकाले नगर प्रहरी राख्ने भएको छ। नेपालको संविधान, २०७२ को अनुसूची ८ ले स्थानीय तहलाई नगर प्रहरी स्थापनाका लागि एकल अधिकार दिएको छ । नगर–प्रहरी राख्नको लागि नगरसभाको १०औँ अधिवेशनबाट नगर प्रहरी सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक–२०७९ पारित गरिएको छ ।
नगरपालिकाभित्र कानुनको शासन स्थापित गर्दै नागरिकहरूलाई न्याय, सुरक्षा तथा व्यवस्थाको प्रत्याभूति गर्न, बजार क्षेत्रको प्रभावकारी व्यवस्थापन गर्नको लागि नगर प्रहरी राखिने नगर प्रमुख राजेन्द्र कुँवरले जानकारी दिनुभयाे ।
यस्तै नगर क्षेत्रभित्रका प्राकृतिक तथा सांस्कृतिक स्रोत र सम्पदाको संरक्षण र सम्वर्द्धन गर्न तथा जुनसुकै बेला आउन सक्ने विपद् र अन्य आकस्मिक घटनाहरूको तत्काल सम्बोधन र समन्वय गरी नागरिकको जीउधनको सुरक्षा गर्दै नगरभित्र सुव्यवस्था कायम गरी नगरवासीलाई स्थानीय सरकारको अनुभूति प्रदानमा पनि मद्दत पुग्ने उहाँको भनाइ छ ।
उहाँले आगामी आर्थिक वर्षमा नगर प्रहरी राख्नको लागि बजेटको व्यवस्था गरिने समेत जानकारी दिनुभयाे । नगरपालिकाको सम्पत्ति र सम्पदाको संरक्षण गर्ने, नगरपालिकाबाट आयोजित सभा समारोह, परम्परा, जात्रा, चाडपर्व, आदि व्यवस्थापनमा सहयोग पुर्याउने, नगर बजार, सडक ,पार्किङ्ग स्थल व्यवस्थापनमा सहयोग पुर्याउने, न्यायिक समितिले गरेका आदेश फैसला कार्यान्वयनमा नगर प्रहरीले सहयोग पुर्याउने नगर उपप्रमुख शिवबहादुर कुँवर शिलोजको भनाइ छ ।
उहाँले कति जना नगर प्रहरी राख्ने र सेवा सुविधा कस्तो हुने भनेर चाँडै कार्यविधि निर्माण गरिने बताउनुभयाे ।







प्रतिक्रिया राख्नुहोस्