वर्षाले घर भत्किएका ४० जनाले पाए ८० लाख क्षतिपूर्ति
जुम्ला । गत असोजको वर्षा र बाढी पहिरोले घर पूर्ण रुपमा क्षति भएका ४० जना पीडित परिवारलाई शिखर ईन्सोरेन्स कम्पनी जुम्लाले ८० लाख बढीको बिमा दाबी भुक्तानी गरेको छ ।

जुम्लाका ८ पालिकामध्ये चन्दननाथ, पातरासी र गुठीचौरका बाहेक ५ पालिकाका ४० जनाको खातामै क्षतिपूर्ति रकम जाने चेक हस्तान्तरण गरिएको हो ।
सबैभन्दा बढी सिञ्जा गाउँपालिकाका १४ जना पीडितहरूलाई ४२ लाख ५ हजार ५ सयको चेक हस्तान्तरण गरिएको शिखर ईन्सोरेन्स जुम्ला शाखा प्रबन्धक दीप दर्शन फडेराले जानकारी दिनुभयो ।
गुठिचौर र पातारासीमा घरहरू पूर्ण रुपमा नभत्किएका र पातारासीका कसैले घर बिमा नगरेका कारण क्षति भए पनि क्षतिपूर्ति पाएनन् ।
कर्णालीका ९९ प्रतिशत सम्पत्ति असुरक्षित
कतिपयलाई चेतना भएर कतिलाई चेतना नभएर कर्णालीका नागरिकको ९९ प्रतिशत सम्पत्ति असुरक्षित छ । करिब १७ लाख नागरिक रहेको कर्णालीमा १ प्रतिशत मात्रै सम्पत्ति बिमाको पहुँचमा छन् ।
शिखर ईन्सोरेन्स कम्पनी जुम्लाका प्रमुख दीप दर्शन फडेरा भन्छन्, “विदेशी मुलुकमा हरेक नागरिकले आफ्नो सम्पत्तिको सुरक्षाका लागि अनिवार्य बिमा गर्छ । कुनै क्षति भए तत्काल राहत पाउँछ, अनि देश सम्पन्न हुन्छ । तर नेपालमा त्यसो छैन । अझ कर्णालीमा करोडौँका मालिकहरू प्नि बिमा गर्न चाहन्नन् । पछि कुनै कारणले क्षति भए रोडमा आउँछन् ।”
तुलनात्मक रुपमा सम्पत्ति बिमा गरेका १ प्रतिशत नागरिकमध्ये सबैभन्दा बढी जुम्लाकै रहेको प्रमुख फडेराको भनाई छ ।
प्रदेश र स्थानीय सरकारले हरेक नागरिकको सम्पत्ति सुरक्षित गर्न अनिवार्य बिमा गर्ने गराउने ठोस नीति लिनुपर्नेमा उनको जोड छ ।








प्रतिक्रिया राख्नुहोस्