जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा

इलाम । इलाममा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि इलाममा सुरु हुदैछ ।
१३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी २५ गतेसम्म संचालन हुने प्रतियोगिता फाकफोकथुम गाउँपालिकामा हुने भएको छ ।
विगत वर्षहरुमा इलाम सदमुकाममा मात्रै संचालन गरिदै आएको प्रतियोगिता यस पटक सदरमुकाम बाहिर आयोजना गरिने तयारी गरिएको जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिनुभयो ।
जिल्लाको पश्चिमी विकट स्थानमा कार्यक्रम संचालन गर्नु चुनौती पुर्ण भएपनि यो प्रतियोगिताले ग्रामीण क्षेत्रको विकासमा समेत टेवा पुग्ने र यसले ग्रमीण जनजिवनको छुट्टै अनुभव गराउने उहाँको भनाई छ । प्रतियोगिता संचालन गर्न फाकफोकथुम गाउँपालिकाले व्यवस्थापनको जिम्मा लिएको छ ।

खेलाडी र व्यवस्थापक टिमलाई व्यवस्थापनका लागि पालिकाले स्थानीय होटल तथा घरहरुमा बास र खानाको लागि तयारी गरेको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले जानकारी दिनुभयो । होम गेस्टको रुपमा खेलाडी तथा अफिसियल राख्न पालिकाले एक सय वटा घरहरुलाई अनुरोध गरी व्यवस्थापन गरी सकेको जनाईएको छ । मैदान लगायत व्यवस्थापनको कार्यहरु पुरा भएको उहाँले जानकारी दिनुभयो ।
भौगोलिक र सडक संजालको आधारले जिल्लाको दुर्गम क्षेत्र मानिने फाकफोकथुम गाउँपालिकाले प्रतियोगिता व्यवस्थापनको जिम्वेवारी लिई खेलकुदको विकासमा जुटिरहेको छ । व्यवस्थापकीय चुनौतीहरु भएपछि फाकफोकथुम गाउँपालिकाले खेल क्ष्ोत्रको विकास, खेल पर्यटनलगायत टेवा पुग्ने अपेक्षा राख्दै खेलकुद प्रतियोगिता संचालन गर्न जिम्मेवारी लिएको जनाएको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका अनुरुप चार वटा र जिल्ला खेलकुद विकास समितिको आफ्नै व्यवस्थापनमा एक पाँच विधाको खेल संचालन हुदैछ ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट संचालन हुनेछन् । एथलेटिक्स अन्तरगत दौड (ट्रयाक) तर्फ र उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ एवम् मार्सल आर्ट अन्तरगत कराँते (सितेरिया), तेक्वान्दो र उसु संचालन हुनेछन् । जिल्ला खेलकुद विकास समितिको आफ्नै व्यवस्थापनमा रग्वी खेल संचालन हुनेछ । रग्वी खेलले जिल्लाको खेल विकासमा राम्रो प्रर्र्दशन गरीरहेकोले रग्वी खेल समेत राखिएको जनाइएको छ ।

प्रतियोगिताका जिल्लाको १० वटै स्थानीय तहले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गरी खेलाडी छनौट गरिसकेका छन । जिल्लामा छनौट भएका खेलाडी प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुन पाउनेछन ।
प्रतियोगितामा खेलाडी र अफिसियल गरी नौ सयदेखि एक हजार जनाको उपस्थिति हुने जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईले बताउनुभयो । विगतका वर्षमा विद्यालय विच मात्रै प्रतिस्पर्धा हुने गरेको भएपनि यस वर्षदेखि अन्तर पालिका प्रतियोगिता हुने भट्टराईले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्