चाम्लिङ राईहरूको भाषिक सम्मेलन खोटाङमा सुरु
खोटाङ । देशभरका चाम्लिङ राईहरूको भाषिक सम्मेलन खोटाङमा सुरु भएको छ ।
चाम्लिङ राईहरूको भाषा तथा संस्कार/संस्कृति संरक्षण, संवर्द्धन र विकास गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् फाउन्डेसनमा तीन दिने सम्मेलन सुरु गरिएको हो ।
नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले उद्घाटन गर्नुभएको सम्मेलनमा डा तारामणि राई, प्राज्ञ जयकुमार राई, मुन्दुम अध्येता भोगिराज चाम्लिङ र किराँत राई चाम्लिङ खाम्बातिमका अध्यक्ष युवराज राईले चाम्लिङ भाषासम्बन्धी कार्यपत्र पेस गर्नुभएको छ । सम्मेलनमा सहभागी देशभरका चाम्लिङ राहीहरूबिच समूह विभाजन गरेर विज्ञबाट प्रस्तुत भएका कार्यपत्रमाथि छलफल सुरु गरिएको खाम्बातिमका महासचिव तेजकुमार राईले जानकारी दिनुभयो ।
सामूहिक छलफलपछि चाम्लिङ राईहरूले प्रयोग गर्दै आएका भाषासम्बन्धी एउटै धारणा बनाउने कार्य योजनासमेत रहेको खाम्बातिमले जनाएको छ । सम्मेलनमा खाम्बातिमका महासचिव राईबाट चाम्लिङ राईहरूको साङ्गठनिक प्रतिवेदनसमेत प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
सम्मेलन समापनपछि जिल्लास्थित किराँत ऐतिहासिक स्थलहरू तुवाचुङ–जायाजुम, मझुवागढी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित साकेला थान लगायतका ठाउँहरूको अवलोकन भ्रमण गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ । हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित त्रि–धार्मिकस्थल हलेसी नजिकै पर्ने तुवाचुङ–जायाजुमलाई किराँत राईहरूको उद्गमस्थल मानिन्छ ।








प्रतिक्रिया राख्नुहोस्