भक्तपुर अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु
भक्तपुर । बागमती प्रदेश सरकारले लागू गरेको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम भक्तपुरमा आजबाट लागू भएको छ ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले आज भक्तपुर अस्पतालमा ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम : नसर्ने रोग पहिचानका लागि परीक्षण, परामर्श र व्यवस्थापन अन्तरगत प्यालिएटिभ तथा ज्येष्ठ नागरिक वार्ड स्थापना’ कार्यक्रमको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा मन्त्री श्रेष्ठले बागमती प्रदेशका विपन्न नागरिक र लोपोन्मुख समुदायलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन बागमती सरकारले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको नीति अगाडि सारेको बताउनुभयो ।
उहाँले प्रदेश सरकार अन्तर्गतको भक्तपुर अस्पताल र भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल भक्तपुरका २ वटा विशिष्टीकृत सामुदायिक अस्पतालको रुपमा रहेको चर्चा गर्दै बागमती प्रदेशअन्तर्गतका १३ वटा अस्पतालहरूले उत्कृष्टता हासिल गरी अगाडि बढिरहेको बताउनुभयो ।

मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सिङ्गो देशकै लागि गौरवको योजना भएको बताउँदै उहाँले प्रदेश सरकारले हाल दुई शैय्याको प्यालिएटिभ केयरको सेवा पाँच शय्यामा विस्तार गर्दै आगामी दिनमा प्रदेशको १३ वटै जिल्लामा विस्तार गर्दै लाने लक्ष्य रहेको बताउनुभयो । उहाँले वाग्मती प्रदेश सरकारले स्वास्थ्य नीति बनाएर स्वास्थ्यको पहुँचबाट कोही पनि बाहिर रहन नपर्ने व्यवस्था गर्न लागेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर अस्पताल बागमती प्रदेशकै नमुना र उत्कृष्ट अस्पताल घोषणाले धेरै गरिब जनतालाई स्वास्थ्य सेवा प्राप्त गर्न सहज भएको बताउनुभयो ।
कार्यक्रममा मुख्यमन्त्रीका सल्लाहकार डीपी ढकालले सङ्घीयताको अनुपम उदाहरण भक्तपुर अस्पताल रहेको बताउँदै प्रदेश सरकारले १३ वटै जिल्लाका अस्पतालको स्तरोन्नतिका लागि काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सुमित्रा गौतम, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमण कायस्थ लगायतले अस्पतालको विगतमा रिफर सेन्टर बने पनि अहिले अस्पतालले आमूल परिवर्तन गरि सेवामा समर्पित रहेको बताउनु भयो ।
नेपाल पत्रकार महासङ्घका सचिव सञ्जीव शुभचिन्तकले अस्पतालले राम्रो गर्दा साथ दिने र नराम्रो गर्दा खबरदारी गर्ने काम पत्रकारबाट हुने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्