झापामा मह प्रशोधन उद्योग सञ्चालन
झापा । झापामा मह प्रशोधन उद्योग सञ्चालनमा आएको छ ।
मौरीपालक महिला किसानहरूको पहलमा जिल्लामै पहिलोपटक शिवसताक्षी नगरपालिकामा मह प्रशोधन उद्योग स्थापना भएको हो ।

सतासी महिला मौरीपालन सहकारी संस्था, सहारा नेपाल र होक्से कृषि सहकारी संस्थाको रु एक करोड २५ लाख लगानीमा सहारा सतासी महिला मौरी मह उद्योग सञ्चालनमा आएको उद्योगका संयोजक देवीकुमारी ओली दाहालले बताउनुभयो । उद्योगमा वार्षिक १० हजार मेट्रिक टन मह उत्पादन गर्ने क्षमता रहेको छ ।
व्यावसायिक रुपमा मह उत्पादनका लागि सतासीमा खेती समेत गरिँदै आएको छ । अब आधुनिक मेसिनबाट मह प्रशोधन हुने भएकाले बजारीकरणमा पनि समस्या नहुने किसान धनमाया पाठक बताउनुहुन्छ ।
पहिलो चरणमा उद्योगमा सात महिलाले रोजगारी पाएका छन् । शिवसताक्षी–११ का बासिन्दाले सरदर १० देखि दुई सय ५० घारसम्म माहुरी पालेका छन् ।
मौरीपालन ‘ब्लक’ क्षेत्र समेत घोषणा गरिएको शिवसताक्षी–११ भित्र मात्र झन्डै तीन सय बढी महिलाले व्यावसायिक रूपमा नै मौरीपालन गर्दै आएको र यसबाट वार्षिक ६० टनभन्दा बढी मह उत्पादन हुँदै आएको छ ।







प्रतिक्रिया राख्नुहोस्