दोलखा उद्योग वाणिज्य सङ्घको अधिवेशन सम्पन्न
दोलखा । दोलखा उद्योग वाणिज्य सङ्घको २३ औ वार्षिक साधारणसभा तथा १५ औ अधिवेशन आइतबार सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घका जिल्ला/नगर उपाध्यक्ष दिनेश श्रेष्ठले गर्नुभएको थियो ।

उद्घाटनको अवसरमा दोलखाका क्रियाशील पत्रकार जीवन लामा र नवराज शिवाकोटी लगायत संघका पूर्व अध्यक्षहरू, भूकम्पले क्षतिग्रस्त सङ्घको भवन निर्माणमा सहयोग गर्ने दाताहरू र कोरोनाको समयमा व्यवसायीहरूलाई विभिन्न सहयोग गर्ने संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका जिल्ला/नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, प्रतिनिधि सभा सदस्य गंगा कार्की, भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धर, उपप्रमुख कमला बस्नेत, नेपाली कांग्रेसका सभापति बर्मा लामा, प्रमुख जिल्ला अधिकारी शेखर पौडेल, नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य रामेश्वर मानन्धर, प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रमेश खतिवडा, नेपाल पत्रकार महासङ्घ दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाई, दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णु श्रेष्ठ, दोलखा उद्योग वाणिज्य संघका सचिव बिमल श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सङ्घको १५ औ अधिवेशनले वर्तमान अध्यक्ष इन्द्र बहादुर श्रेष्ठकै अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गर्ने सहमति भएको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्