बेथानचोकमा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू भएको छ ।
अपाङ्गता भएका कारण विद्यालय जान नसकेका, अभिभावकविहीन, गरिबी वा अन्य कुनै पनि कारण हालसम्म विद्यालय नपुगेका बालबालिकालाई विद्यालयसम्म ल्याउने पालिकाले नीति लिएको हो ।
शिक्षा शाखा प्रमुख पुस्पा राईले विद्यालय भर्ना नभएका,अपाङ्गता भएका कारण विद्यालय जान नसकेका, अभिभावक विहीन भएकै कारण विद्यालय नगएका तथा गरिबी वा अन्य कुनै पनि कारण हालसम्म विद्यालय नपुगेका बालबालिकालाई विद्यालयसम्म ल्याउने योजना रहेको जानकारी दिनुभयो ।
कार्यक्रमले ४ वर्ष पुरा भई १३ वर्ष ननाघेका बालबालिकाका समेटिने छन् । जटिल खालको अपाङ्गताका कारण विद्यालय जान नसकेका विद्यार्थीको हकमा घरमै गएर घुम्ती शिक्षकमार्फत शिक्षा दिइने शाखा प्रमुख राईले जानकारी दिनुभयो ।
यसका लागि प्रारम्भिक चरणमा सूचना प्रवाह गर्ने, शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति तथा सामुदायिक सिकाइ केन्द्रलाई प्रभावकारी ढंगले परिचालन गरिने, फारम तयारी गरिने, सूचक बनाएर टोली खटाइने उल्लेख छ ।
यस्तै वडा स्तरमा जनप्रतिनिधि (वडा सदस्य) लाई पनि परिचालन गर्ने त्यसको अनुगमन वडा र अन्त्यमा शिक्षा शाखा र पालिकाले पनि बालबालिकाको खोजपड्ताल गर्ने, तथ्याङ्क सही छ छैन भनी क्रस भेरिफाइ समेत गरी विद्यालय बाहिरका बालबालिकालाई शिक्षण सिकाइमा समावेश गराइ कार्यक्रम सफल बनाउने लक्ष्य पालिकाले लिएको छ ।
नयाँ शैक्षिक सत्र सुरु हुनै लागेको र नयाँ भर्नाका लागि गरिने घरदैलो कार्यक्रमबाट विभिन्न कारण विद्यालय नपुगेका बालबालिकाको सूक्ष्म ढंगले पनि लगत सङ्कलन गरिने भए पनि त्यो समयसम्म नकुर्ने आजै अहिल्यै बाट कार्यक्रम सुरु भएको उहाँको भनाई छ ।
यसका लागि प्रारम्भिक चरणमा सूचना प्रवाह गर्ने, शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति तथा सामुदायिक सिकाइ केन्द्रलाई प्रभावकारी ढंगले परिचालन गरिने, फारम तयारी गरिने, सूचक बनाइने उहाँले जानकारी दिनुभयो ।
घरदैलो कार्यक्रम पश्चात् मौद्रिक र अमौद्रिक सहयोग उपलब्ध गराउने र बालबालिकालाई विद्यालय आउने वातावरण बनाउने गाउँपालिकाले नीति लिएको छ ।
अपाङ्गता तथा गरिबीको रेखा मुनी रहेका बालबालिकाको सङ्ख्याको आधारमा बजेट विनियोजन गर्ने, पोशाक, झोला, जुत्ता, पुस्तक, कापी कलम आदि उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिनुभयो ।
यसका लागि निःशुल्क अनिवार्य शिक्षा दिइएकाको समेत लिस्ट बनाइने छ । कुनै पनि कारण आफ्ना बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई पनि विद्यालय पठाउन सहयोग एवं प्रोत्साहन कार्यक्रम अघि सारिने यति गर्दा पनि अटेर भए गाउँपालिकाबाट प्रदान गरिने सेवा सुविधालाई रोक्का गरी बालबालिकालाई विद्यालय पठाएपछि मात्र सेवालाई निरन्तरता दिइने बाध्यकारी नीति बनाएरै भए पनि विद्यालय बाहिरका बालबालिकालाई विद्यालय ल्याउने उहाँको भनाई छ ।
अपाङ्गता भएका, गरिबीका कारण, आमाबुबा नभएका कारण विद्यालयसम्म नपुगेका केही बालबालिका रहेको आफूले पनि जानकारी पाएको भन्दै उहाँले गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम वडास्तरमा सुरु गरिने र निःशुल्क अनिवार्य शिक्षायुक्त वडा घोषणा गर्ने र अन्त्यमा निःशुल्क अनिवार्य शिक्षायुक्त गाउँपालिका घोषणा गरिने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
शुक्रबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रमबारे गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्य, शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति तथा सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीको उपस्थितिमा तयार परिएको कार्यविधिबारे छलफलसमेत भएको छ ।
निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम केन्द्र सरकारको सामाजिक विकाश मन्त्रालय अन्तर्गतको कार्यक्रम हो ।
काभ्रेको बेथानचोक र खानीखोला गाउँपालिकामा यो कार्यक्रम लागू भएको छ ।








प्रतिक्रिया राख्नुहोस्