नेपाली भाषाको उद्गम स्थल सिञ्जामा एमालेको मिसन ग्रासरुट
जुम्ला। नेपाली भाषाको उद्मस्थल जुम्लाको सिञ्जामा हिजो नेकपा (एमाले) को मिसन ग्रासरुट अन्तर्गतको गाउँपालिकास्तरीय अभिमुखीकरण सम्पन्न भएको छ ।
सिञ्जाको नराकोटमा आयोजित अभिमुखीकरणलाई सम्बोधन गर्दै नेकपा (एमाले) का केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले अप्राकृतिक र अवाञ्छित रुपमा छापामार शैलीले पर्दा पछाडिबाट बनेको गठबन्धन सरकार मुलुकका लागि अभिशाप भएकाले अर्को चुनावबाट एकल बहुमत ल्याउने गरी काममा खट्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेता रिजालले आफ्नो इतिहास र पुर्खाहरूको योगदानप्रति गौरव गर्दै सुन्दर कर्णाली बनाउन यहीका नागरिक जाग्नुपर्नेमा जोड दिँदै त्यसका लागि समृद्धिलाई एजेन्डा बनाएको पार्टी एमालेले जित्नु अनिवार्य रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अरू पार्टीले मुलुक बनाउन सक्दैनन् भन्ने प्रमाणित भइसकेको छ । उग्रवापन्थी र दक्षिणपन्थीहरूको गठजोड कुनै सकारात्मक एजेन्डाका लागि नभएर मुलुकलाई मिलेर तहसनहस पार्नका लागि हो ।
पालिका कमिटीका अध्यक्ष युवराज बमको अध्यक्षतामा आयोजित कार्यक्रमलाई केन्द्रीय प्रतिनिधि गेहेन्द्र दाहाल, जुम्लाका अध्यक्ष शान्तिलाल महत, प्रदेश कमिटी सदस्य मेनका रेग्मीलगायतका वक्ताहरूले सम्बोधन गर्नुभएको थियो ।
भेलाले सबै वडाका लागि सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानको कार्ययोजना बनाउनुका साथै भोलिबाटै कार्यक्रम सुरु गर्ने तय गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्