तपाईँ सुन्दै हुनुहुन्छः

‘ताराणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम कोशी प्रदेशको ऐतिहासिक धरोहर’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ताराणी प्रसाद कोइराला स्मृति सञ्चार ग्रामलाई थप प्रभावकारी बनाउन प्रदेश सरकार तयार रहेको बताउनुभएको छ ।

विराटनगरमा आज रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीसँगको छलफलमा उहाँले प्रदेश सरकारले नीतिगत व्यवस्था गरेर भए पनि कार्यक्रम सञ्चालनका लागि सञ्चार ग्राम र रेडियो नेपाललाई आर्थिक सहयोग गर्ने उल्लेख गर्नुभयो ।

ताराणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम कोशी प्रदेशको ऐतिहासिक धरोहर भएकाले त्यसका लागि सबै प्रकारको सहयोग गर्न आफु प्रतिबद्ध रहेको मुख्यमन्त्री कार्कीको भनाई थियो । उहाँले प्रदेश सरकारले रेडियो सञ्चालन गर्ने नीतिगत व्यवस्था कानुनमा नभए पनि रेडियो नेपालजस्तो इतिहास बोकेको संस्थालाई हर सम्भव सहयोग रहने बताउनुभयो ।

त्यस अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले ताराणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम पूर्ण रुपमा सञ्चालनमा आउन लागेकाले त्यसका लागि प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताउनुभएको थियो ।

उहाँले सञ्चार ग्रामको उद्देश्यमाथि प्रकाश पार्नुहुँदै प्रदेश सरकारका गतिविधि र कार्यक्रम जनमानसमा पुर्‍याउन रेडियो नेपालले विभिन्न कार्यक्रम प्रसारण गरिरहेको जानकारी गराउनुभयो ।

त्यस अवसरमा कार्यकारी निर्देशक केसीले मुख्यमन्त्री कार्कीसमक्ष आगामी आर्थिक वर्षका लागि रेडियो नेपालको कार्यक्रमसम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो ।

कार्यक्रममा रेडियो नेपालका निर्देशक पुष्करराज गौतम, रेडियो नेपाल धरान प्रसारण केन्द्रका प्रमुख बौयेलाल चौधरी लगायतको सहभागिता रहेको थियो ।

कोशी प्रदेश सरकारले रेडियो नेपाल धनकुटा प्रादेशिक प्रसारण केन्द्रबाट ‘प्रदेश डायरी’ कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button