तपाईँ सुन्दै हुनुहुन्छः

सुन्तला खेतीबाट आत्मनिर्भर बन्दै सल्यानका किसान

सल्यान । व्यावसायिक सुन्तला खेतीबाट सल्यानका किसानले राम्रो आम्दानी गर्दै आएका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका किसान राम्रो आम्दानी लिन सफल भएपछि आत्मनिर्भर पनि बन्दै गएका छन् ।

विगतमा स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकका कारण अहिले बाहिरी जिल्लामा पनि पुग्न थालेपछि किसानले राम्रो मूल्य समेत पाउन थालेका छन् । यो वर्ष मात्र सुन्तला बिक्रीबाट २७ लाख आम्दानी भएको बागचौर नगरपालिका ८ डाँगी गाउँका भरतनाथ योगीले बताउनुभयो । ४५ रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्दै आउनुभएका योगी जिल्लामै सबैभन्दा धेरै सुन्तला उत्पादन गर्ने किसानमा पर्नुहुन्छ ।

प्रत्येक वर्ष २५ देखि २८ लाखसम्म आम्दानी हुँदै आइरहेको उहाँको भनाई छ । बागचौर नगरपालिका ३ का वडाध्यक्ष समेत रहनुभएका भीम प्रकाश भण्डारीले पनि यो वर्ष सुन्तला बिक्रीबाट १० लाख आम्दानी भएको बताउनुभयो । गत वर्ष ९ लाख आम्दानी गर्नुभएका उहाँले यस वर्ष सुन्तलाको उत्पादन र मूल्य राम्रो हुँदा आम्दानी बढेको बताउनुभयो ।

सल्यानको बागचौर नगरपालिका ३ र ९ वडा सुन्तला खेतीका लाग पकेट क्षेत्रका रुपमा परिचित छन् । वडा न ३ बाट यस वर्ष मात्रै २ करोड र वडा न ९ बाट १० करोडको सुन्तला निकासी भएको छ ।

२०५२ सालदेखि व्यावसायिक सुन्तला खेती गर्दै आउनुभएका ताराप्रसाद भण्डारीले केही वर्षयता किसानले उत्पादन गरेको सुन्तलाले राम्रो मूल्य पाइरहेको बताउनुभयो ।

जिल्लामा १ हजार ६ बढी हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आइरहेको छ । वार्षिक २५ करोड जिल्लाबाट निकासी हुने गरेकोमा आधा भन्दा बढी सुन्तला बागचौरबाट निकासी हुने गरेको कृषि विकास कार्यालय सल्यानका कार्यालय प्रमुख भरत कुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button