तपाईँ सुन्दै हुनुहुन्छः

आइसिसी क्रिकेट विश्वकप लिग–२ : दोस्रो खेलमा नेपाल युएईसँग पराजित

काठमाडौँ । ब्याटिङमा कमजोर प्रदर्शन गरेपछि आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग पराजित भएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा २०८ रनको लक्ष्य पछ्याएको नेपालले ३१.५  ओभरमा सबै विकेट गुमाएर १३९ अलआउट भयो ।

युएईलाई जिताउन रोहन मुस्ताफाले अलराउण्ड प्रदर्शन गरे । ब्याटिङमा संयमित हुँदै अविजित ५२ रन बनाएका उनले बलिङमा ३ विकेट लिए ।

युएईसँग पराजित भएपछि लिग टु को शीर्ष तीनमा रहेर विश्वकप छनोटमा पुग्ने नेपालको सम्भावना कठिन बनेको छ । अब नेपालले शीर्ष तीनमा पर्न बाँकी रहेको ६ वटै खेल जित्नुपर्नेछ ।

घरेलु मैदानमा स्कटल्याण्ड र नामिबिया सम्मिलित शृङ्खला क्लिन स्वीप गरेर युएई पुगेको नेपालले त्यहाँ पहिलो खेलमा पपुवा न्यूगिनीलाई पनि हराएर लगातार पाँच खेल जितेर कीर्तिमान बनाएको थियो ।

नेपालले यसअघिका पाँचै खेलमा टस जितेर पहिले बलिङ गर्दै लक्ष्य पछ्याएर जित निकालेको थियो । आजको खेलमा पनि नेपालले टस जितेर बलिङ नै गरेको थियो ।

विपक्षीलाई २०७ रनमै रोके पनि नेपालले लक्ष्य पछ्याउने क्रममा ब्याटिङको लयलाई कायम राख्न सकेन । कुशल मल्लको ६० रनबाहेक आज नेपालको ब्याटिङ फ्लप नै रह्यो । कुशल बाहेक सन्दीप लामिछानेले (२६)  र आसिफ शेखले मात्र दोहोरो स्कोर (१७) गरे । ब्याटिङमा गहिराई भएपनि युएईका स्पिनर सामु नेपालको ब्याटरले खुलेर खेल्न सकेनन् । 

लिग टु मा नेपालले युएईलाई पराजित गर्न सकेको छैन । लिग टु को तीन खेलमै नेपाल युएईसँग पराजित भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button