तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रेको बेथानचोकमा सुरुङमार्ग अध्ययनको लागि काठमाडौँ विश्वविद्यालयसँग सम्झौता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकामा सुरुङमार्ग निर्माणका लागि अध्ययन गर्न धुलिखेलको काठमाडौँ विश्वविद्यालय (केयू)सँग सम्झौता गरिएको छ । 

बेथानचोक गाउँपालिका वडा  १ र ४ जोड्ने ढुंखर्क खोला–च्याम्राङबेँसी सुरुङमार्गको प्रारम्भिक प्राविधिक अध्ययन काठमाडौँ विश्वविद्यालय ९केयू०ले गर्ने भएको हो । 

सुरुङमार्ग अध्ययनको लागि आज विश्वविद्यालयमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिका र केयूबीच तीन बुँदे समझदारी भएको छ । 

केयूको तर्फबाट उपकुलपति डा। भोला थापाले र गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतामा सुरुङमार्ग निर्माणार्थ गाउँपालिकाले विश्वविद्यालयलाई आर्थिक सहयोग स्वरूप रु १० लाख उपलब्ध गराउने, स्थानीय समस्यामा आधारित भएर संयुक्त अनुसन्धान र प्रकाशनको कार्य गर्ने  तथा समसामयिक विषयमा संयुक्त आयोजनामा सेमिनार, सम्मेलन र गोष्ठी सञ्चालन गर्ने उल्लेख गरिएको छ । 

गाउँपालिका अध्यक्ष भगवान अधिकारीले वडा नं ४, २ र १ मा पर्ने बाइसेढुङ्गाबाट दुर्लुङखोला हुँदै चौतारीसम्म सुरङमार्ग अध्ययनका लागि सम्झौता गरिएको बताउनुभयो । उहाँले सम्झौताको चार महिनाभित्र सुरुङमार्ग बनाइने स्थानको भौगर्भिक स्थितिसँगै सबै प्रकारका अध्ययन सक्ने योजना बनाइएको जानकारी दिनुभयो । 

त्यस्तै,  काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले सुरङमार्ग अध्ययन गर्दा स्थानीय तहसँगको समन्वयमा काम गर्ने माध्यम बनेको जनाउँदै जिल्लाका अन्य तहसँग पनि स्थानीय समस्या तथा शिक्षाका विषयमा सहकार्य गर्दै जाने बताउनुभयो । सुरङमार्ग अध्ययन विश्वविद्यालयका विद्यार्थीका लागि सिकाइका साथै खोजमूलक विषय भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button