तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन कार्यालय काभ्रेद्वारा मतदाता नामावली अद्यावधिक गर्ने कार्यतालिका सार्वजनिक

काभ्रेपलाञ्चोक ।  जिल्ला निर्वाचन कार्यालय काभ्रेपलान्चोकले चालु आर्थिक वर्षका लागि अन्तिम मतदाता नामावली अद्यावधिक कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको छ ।

काभ्रेपलाञ्चोक जिल्लामा प्रदेश र प्रतिनिधि सभा निर्वाचन पछि ५ सय ९४ मतदाता थपिएको  जिल्ला निर्वाचन अधिकारी उमेश राईले बताउनुभयो ।

यही फागुन २२ देखि जिल्लाका सबै नगरपालिका तथा गाउँपालिका अन्तर्गतका वडा कार्यालयहरू र जिल्ला निर्वाचन कार्यालय धुलिखेलमा २०८० साल वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुगेका व्यक्तिहरूको नामावली प्रकाशन हुने तथा त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्युको नाम हटाउने र दाबी विरोध गर्ने प्रयोजनका लागि २०७९ फागुन २३ गते देखि २५ गतेसम्म निवेदन दिन सकिने र मृत्युको हकमा भने थप एक दिन यही फागुन २६ गतेसम्म निवेदन दिन सकिने जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिनुभयो ।

त्यस्तै, निर्वाचन कार्यालयमा स्वयं उपस्थित भएर तथा विद्युतीय सामाग्री मार्फत निर्वाचन कार्यालयको वेभ साइटमा रहेको अनलाइन मार्फत निवेदन दिन सकिने व्यवस्था गरिएको निर्वाचन अधिकारी राईले बताउनुभयो ।

नयाँ नाम दर्ताका लागि अनलाइन मार्फत विभिन्न विवरणहरू भरे पछि आयोगले दिएको मितिमा आफूलाई पायक पर्ने निर्वाचन कार्यालयमा गएर फोटो खिचाउन सकिनेछ । काभ्रेपलान्चोक जिल्लाको नागरिक वा नेपालका ७७ वटै जिल्लाका नागरिकहरूले आफू बसेकै स्थानबाट फाराम भरेर फोटो खिचाउन सकिने व्यवस्था आयोगले गरेको छ ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा ३ लाख १० हजार ६३ मतदाता थिए । अहिले मतदाताको सङ्ख्या ३ लाख १० हजार ६ सय ५७ पुगेको जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button