शैलुङ ज्याङ्छयुब छयोर्तेनमा शुद्धीकरण सुप्राणप्रतिष्ठान

दोलखा । प्रसिद्ध धार्मिक एवं पर्यटकीय केन्द्र शैलुङमा निर्माण भएको शैलुङ ज्याङ्छयुब छयोर्तेनमा बुधवार धार्मिक अनुष्ठान सहित शुद्धीकरण सुप्राणप्रतिष्ठान कार्य सम्पन्न भएको छ ।
छयोर्तेन टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको सदिक्षा र संरक्षणमा शैलुङ रिगसुम गोन्पो सेवा समाजले उक्त छयोर्तेनको निर्माण सम्पन्न गरेको हो । शैलुङ ज्याङ्छयुब छयोर्तेनमा शैलुङ ज्याङ्छयुब (बोधिचैत्य) को प्राचीन बौद्ध ङिङ्मा सम्प्रदायका शरण नायक परमपावन गुरु क्याब्जे सेचेन रब्ज्याम रिम्पोछेको सानिध्यतामा धार्मिक अनुष्ठान सहित शुद्धीकरण सुप्राणप्रतिष्ठान कार्य सम्पन्न भएको शैलुङ रिगसुम गोन्पो सेवा समाजका महासचिव कृष्ण कुमार थोकरले बताउनु भयो ।
२०७३ साल भदौ २३ गतेबाट निर्माण सुरु गरिएको शैलुङ ज्याङ्छयुब छयोर्तेनको निर्माण कार्य भर्खरै सम्पन्न भएको महासचिव थोकरले बताउनु भयो । तीन करोड ३० लाख लागतमा निर्माण सम्पन्न भएको शैलुङ ज्याङ्छयुब छयोर्तेन निर्माणको लागि दोलखाको शैलुङ र मेलुङ गाउँपालिका, रामेछापको दोरम्बा– शैलुङ गाउँपालिका, जनप्रतिनिधिहरू, लोपेन सोनाम लामा, शैलुङ शेर्पा समाज लगायतले सहयोग गरेको शैलुङ रिगसुम गोन्पो सेवा समाज थोकरले बताउनु भयो ।

तीन हजार एक सय ४८ मिटर को उँचाइमा रहेको शैलुङ नामाकरण तामाङ भाषाबाट गरिएको जनविश्वास रहेको छ । तामाङ भाषाको शै अर्थात् सय र लुङ अर्थात् थुम्काबाट शैलुङ भएको मानिन्छ । किंवदन्ती अनुसार सत्य युगमा शैलुङका सय थुम्कामा ऋषिहरूले तपस्या गरेका थिए । त्यसैले पनि शैलुङलाई प्रकृति, अध्यात्मक र संस्कृतिको त्रिवेणी समेत भनिन्छ ।
धार्मिक महत्त्वसँगै प्राकृतिक रुपमा अत्यन्त मनोरम थुम्काहरू रहेको शैलुङमा ज्याङ्छयुब छयोर्तेन निर्माण भएपछि पर्यटकहरूको आकर्षणमा वृद्धि भएको राजनीतिज्ञ एवं समाजसेवी स्थानीय शोभित उप्रेती बताउनु हुन्छ ।
प्रकृति, संस्कृति र विज्ञानलाई जोडेर शैलुङलाई पर्यटकीय हब बनाउने उद्देश्य सहित शैलुङ क्षेत्रमा साइन्स पार्क निर्माणको लागि समेत अध्ययन भई रहेको समाजसेवी शोभित उप्रेतीले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्