गोकर्णेश्वरमा निःशुल्क योग शिविर
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र नारायणटार जोरपाटीमा नगर स्तरीय योग शिविर सञ्चालन गरेको छ ।

पतञ्जलि योग समिति नेपालको तत्त्वावधानमा आजदेखि बिहान साँढे ५ बजेदेखि साँढे सात बजेसम्म सञ्चालन हुने निःशुल्क योग शिविरमा केन्द्रमा रहेका अपाङ्गता भएका व्यक्तिका साथै स्थानीयको सहभागिता रहेको छ ।

योग शिविरको उद्घाटन गर्नुहुँदै गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले प्रत्येक वडामा कम्तीमा एउटा योग भवन बनाउने लक्षका साथ काम भइरहेको बताउनुभयो ।

नगरपालिकाभित्र हाल १५ स्थानमा नियमित योग शिविर सञ्चालन भइरहेको र यसका लागि आवश्यक सहयोग प्रदान गर्दै आएको प्रमुख रिसालले जानकारी दिनुभयो ।

उपप्रमुख सान्नानी लामाले बालबालिका तहदेखि नै योगको जागरणका लागि नगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रममा योगलाई समावेश गरिएको बताउनुभयो ।

वडा नम्बर ५ का अध्यक्ष नारायण सुवेदी र वडा नम्बर ६ का अध्यक्ष नवराज लामाले शारीरिक एवं मानसिक स्वस्थताका लागि सबैलाई नियमित योग अभ्यासमा प्रेरित गर्न आवश्यक रहेको बताउनुभयो ।

साधवी देवादितीले प्रशिक्षण दिनुभएको कार्यक्रममा पतञ्जलि योग समिति वाग्मती प्रदेशका सहप्रभारी मोहन मान श्रेष्ठ, काठमाडौँ जिल्ला अध्यक्ष सुरेन्द्र रिमाल, महिला अध्यक्ष हिरा अधिकारी, गोकर्णेश्वरका नगर संयोजक प्रमेश अधिकारी लगायतका योग प्रशिक्षकले सहजीकरण गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्