वैशाख १४ गतेबाट तानसेनमा पाल्पा महोत्सव हुने

पाल्पा । पाल्पा जिल्ला सदरमुकाम तानसेनमा आगामी वैशाख १४ गतेदेखि २४ गतेसम्म पाल्पा महोत्सव सञ्चालन हुने भएको छ ।
विगतमा कोरोना महामारीको कारण हुन नसकेको महोत्सव यस पटक गर्न लागिएको आयोजक पाल्पा उद्योग वाणिज्य सङ्घले जनाएको छ । साथै सधैँ महोत्सव हुने तानसेन टुँडिखेलमा नगरपालिकाले स्तर उन्नतिको काम गरिरहेकोले स्थानको अभावले महोत्सव हुन सकेको थिएन । मेलाको लागि बतासेडाँडा, टुँडीखेल, बाँसटारी, प्रभास, गोर्खेकोट, श्रीनगर लगायतको क्षेत्र हेरेर आवश्यक निर्णय लिइने सङ्घले जनाएको छ ।
महोत्सवले जिल्लाको आर्थिक, सामाजिक, पर्यटकीय र सांस्कृतिक क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ । सङ्घले २०५८ सालदेखि विभिन्न समयमा मेला महोत्सव गर्दै आइरहेको,मेला महोत्सव गरेरै तानसेनको खानेपानी, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा सङ्घले सहयोग गरेको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले जानकारी दिनुभयो ।
वैशाख १४ गतेदेखि २४ गतेसम्म १३ औँ संस्करणको रुपमा सङ्घले महोत्सव आयोजना गर्न थालेको र संघका अध्यक्ष भट्टराईको नेतृत्वमा मूल आयोजक समिति गठन भएको सङ्घले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्