रङ्गेली नगरपालिका–८ मा पशुआहार उद्योग सञ्चालन
विराटनगर । पशुपालन व्यवसायलाई लक्षित गर्दै मोरङको रङ्गेली नगरपालिका–८ पशुआहार उद्योग सञ्चालनमा आएको छ । तीन करोड रुपैयाँको लागतमा स्थापना भई सञ्चालनमा आएको उद्योगले पशु आहारका लागि ट्याब्लेट र पाउडर दाना उत्पादन गर्दै आएको छ ।

दाना उत्पादनका लागि उद्योगले मकै, धान, चामल कुटाउँदा निस्कने भुसा चोकर तथा तोरी र भटमासको पिना साथै विभिन्न प्रकारका कृषिजन्य वस्तुको प्रयोग गर्दै आएको छ ।
१८ प्रकारका कृषिजन्य ब्राण्ड मिश्रण गरेर गरेर उत्पादन गरिएको दाना प्रोटिनयुक्त हुने भएकाले यसको प्रयोगले दुग्ध तथा मासु उत्पादनमा वृद्धि भई पशु समेत स्वास्थ्यकर हुने उद्योगका सञ्चालक ओमकार थापाले बताउनुभयो ।

उद्योगले दैनिक पाँच टन पशु आहार उत्पादन गर्दै आएको छ । उद्योगको मासिक ३ सय टन दाना उत्पादन गर्ने क्षमता भए पनि पहिलो चरणमा अहिले मासिक १ सय ३० टन दाना उत्पादन गरिरहेको सञ्चालक थापाले बताउनुभयो । किसानले पाउने बजार मूल्यभन्दा उद्योगले ५० रुपैयाँ बढी मूल्य दिएर कृषिजन्य वस्तु खरिद गर्दै आएको छ ।
रोजगारी लागि युवाहरू विदेश पलायन भइरहेको अवस्थामा स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण दिन आफूहरूले उद्योग सञ्चालनमा ल्याएको अर्का सञ्चालक सन्जोग बस्नेतले बताउनुभयो । युवाहरूले सञ्चालनमा ल्याएको यस्ता उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्ने उहाँको भनाई छ ।
यसरी गाउँघरमै उद्योग सञ्चालनमा आएपछि पशुपालक किसान समेत खुसी भएका छन् । उत्पादित दाना गाईबस्तु, सुँगुर बङ्गुर, खसीबोका तथा घोडालाई समेत आहारका लागि प्रयोग गर्न सकिने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्