तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको कञ्चनरुप नगरपालिकामा बीमासम्बन्धी अन्तरक्रिया सम्पन्न

सप्तरी । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा यही फागुन १४ गते मधेश प्रदेशको सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकामा बीमासम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि कञ्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले बीमा गरेपछि क्षति भएमा बीमा कम्पनीबाट क्षतिपूर्ति पाउने भएकाले जीवन तथा घर, सम्पत्ति, सवारी साधन, कृषि बाली र पशुपन्छीहरूको बीमा गरेर ढुक्क हुन सबैलाई आग्रह गर्नुभयो ।

प्रमुख गुप्ताले गाउँ गाउँसम्म बीमासम्बन्धी जानकारी गराउने दायित्व जनप्रतिनिधिहरूको समेत भएकाले बीमा सचेतना अभिवृद्धिका लागि भूमिका निर्वाह गर्न वडा अध्यक्ष तथा सदस्यहरूलाई आग्रह गर्नुभयो ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले नगरपालिका भित्रका साना तथा ठूला घरहरूको बिमालाई अनिवार्य गरी आर्थिक सुरक्षण गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागीहरूले जग्गाधनीले नभई जग्गा भाडामा लिएर खेती गर्ने कृषकहरूले नै कृषि बीमाको दाबी भुक्तानी पाउने व्यवस्था गर्न आग्रह गर्दै बीमा कम्पनीहरूले बीमा दाबी भुक्तानी दिन आनाकानी गर्ने गरेको, साना दाबी भुक्तानी पाउन पटक पटक धाउनुपर्ने बाध्यता रहेको, बिमाका बारेमा जानकारी नपाएको, कृषि तथा पशुबीमा गर्न बीमा कम्पनीहरू गाउँमा नआएको लगायतका गुनासा राख्नुभएको थियो ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक टेकराज पाण्डेयले सञ्चालन गर्नुभएको कार्यक्रममा कञ्चनरुप नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरू, कृषक, बीमा, बैङ्क र वित्तीय संस्थाका शाखा कार्यालयका प्रतिनिधि, महिला समूहका प्रतिनिधि, बीमा अभिकर्ता लगायत गरी करिब ९० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button