तपाईँ सुन्दै हुनुहुन्छः

किसानलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण

धनकुटा । कृषि ज्ञान केन्द्र धनकुटाले किसानलाई मिनिटिलर, टनेल, मल र बिउ वितरण गरेको छ । 

केन्द्रले मुख्य राजमार्गलक्षित कार्यक्रम अन्तर्गत गुराँसे गाई पालन कृषक समूहलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर र शत प्रतिशत अनुदानमा टनेल र बिउ वितरण गरेको हो ।

कृषि ज्ञान केन्द्र धनकुटाले धनकुटा नगरपालिका वडा नं. २ को गुराँसे गाई पालन कृषक समूहका १० जना कृषकलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर उपलब्ध गराएको हो । 

यस्तै केन्द्रले समूहमा रहेका किसानलाई प्लास्टिक टनेल, बिउ र मल शत प्रतिशत अनुदानमा वितरण गरेको  छ। मुख्य राजमार्ग लक्षित कार्यक्रममा पर्ने सडक, बिद्युत्को पहुँच लगायतका मापदण्डमा गुराँसे गाई पालन कृषक समूह छनौट भएको हो । खेती कार्यलाई यान्त्रीकरण गरी छिटो छरितो र लागत घटाउने उद्देश्यले मिनीटिलर सहयोग गरिएको कार्यालयका प्रमुख नगेन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

मिनिटिलरका लागि ज्ञान केन्द्रले ५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो भने किसानको ५ लाख रुपैयाँ लागत सहभागिता रहेको छ । गुराँसे गाई पालन कृषक समूह रहेको स्थान तरकारी बालीका लागि उर्वर र गाई पालनका लागि प्रख्यात मानिन्छ । मिनिटिलर पाएपछि गोरु पाल्नलाई झन्झट र जोत्न ढिलो हुने समस्याबाट मुक्त हुने गुराँसे गाई पालन कृषक समूहका अध्यक्ष भीम रानाले बताउनुभयो ।

किसानले आधुनिक प्रणालीले खेती नपाएको गुनासो गइरहेका बेला अनुदानमा मिनिटिलर, प्लास्टिक टनेल, बिउ र मल वितरण गरेपछि किसान उत्साहित भएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button