तपाईँ सुन्दै हुनुहुन्छः

आठ दलको सहमति राष्ट्रिय सहमतिकै प्रारूप हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार संसद्मा प्रतिनिधित्व गर्ने आठ दलबीच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको बताउनुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा महेन्द्रनारायण निधिको १०१औँ जन्मजयन्तीका अवसरमा आज आयोजित ‘समसामयिक नेपाली राजनीति र निधिको विचार’ विषयक बिचार गोष्ठीमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।

बिचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हिजो संसद्का आठ दलबीच जुन सहमति भएको छ, ऐतिहासिक छ, त्यो राष्ट्रिय सहमतिकै प्रारूप हो । संसद्को सबैभन्दा ठूलो दलबाट राष्ट्रपति निर्वाचित हुन्छ, दोस्रो ठूलो दलको सभामुख र राष्ट्रियसभाको अध्यक्ष छ । तेस्रो दलको प्रधानमन्त्री छ ।” उहाँले संसद्का अरू दलहरूबीच पनि समझदारीका साथ अगाडि बढेको बताउनुभयो ।

नयाँ सरकार गठनपछि केही सूचक सकारात्मक देखिए पनि अर्थतन्त्र सङ्कटमुक्त नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले लामो त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथिको खतरा कायमै रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “फागुन ७ गते संविधानले नचिनेका नारा लागे, त्यो गम्भीर कुरा छ, हिजो जसरी संसद् विघटन गरियो, संविधानमाथि आक्रमण गरियो, त्यो प्रवृत्ति अन्त्य भइसकेको छैन, त्यसैले पनि लोकतान्त्रिक मूल्य, मान्यता र संविधानका पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ, उभिएका छौँ ।”

राष्ट्रिय सहमतिकै लागि आफूले कोसिस गरे पनि सम्भव नभएको उहाँको भनाइ थियो । संविधान, लोकतान्त्रिक मूल्य र मान्यता नस्विकार्ने शक्तिसँगको सहकार्य सहज नहुने भन्दै उहाँले भन्नुभयो, “यही निष्कर्षका साथ फेरि हामी एक ठाउँ उभिएका छौँ, हामी प्राकृतिक कोर्षमा फर्किएका छौँ, यो नै मुख्य कुरा हो ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button