तपाईँ सुन्दै हुनुहुन्छः

कानून व्यवसायी महिलाहरूको ३० औँ राष्ट्रिय सम्मेलन सम्पन्न

वीरगञ्ज । ३० बुँदे वीरगञ्ज घोषणा पत्र जारी गर्दै कानून व्यवसायी महिलाहरूको ३० औँ राष्ट्रिय सम्मेलन वीरगञ्जमा सम्पन्न भएको छ ।

फागुन १२ र १३ गते वीरगञ्जमा सम्पन्न कानून व्यवसायी महिलाहरूको ३० औँ राष्ट्रिय सम्मेलनबाट ३० बुँदे घोषणा पत्र जारी गरिएको नेपाल बार एशोसिएशन महिला समितिकी अध्यक्ष आशा राईले जानकारी दिनुभयो । लैङ्गिक न्याय, मानव अधिकार, कानूनको शासन, स्वतन्त्र न्यायपालिकाको आधारभूत मान्यताप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै सम्मेलनले वीरगञ्ज घोषणापत्र जारी गरेको अध्यक्ष राईले बताउनुभयो ।

वीरगञ्ज घोषण पत्रमा नेपालको संविधानले प्रत्याभूत गरेको समानता, अविभेद, समावेशिता र समानुपातिकको सिद्धान्त अनुरुप महिला खासगरी आर्थिक, सामाजिक, सांस्कृतिक राजनीतिक, भौगोलिक, जैविक तथा मानसिक वा शारीरिक अन्तरसमूहगतको कारणबाट सीमान्तकृतमा परेका वा पारिएका महिलाको विकास, सशक्तीकरण र राज्यको सम्पूर्ण तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नका लागि नीति तथा कानुनहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ ।

३० बुँदे वीरगञ्ज घोषणा पत्रमा अदालतमा भएका भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीको अन्त्य गर्ने विषयमा सर्वोच्च अदालत लगायतका सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउने उल्लेख छ ।

राष्ट्रिय महिला आयोगलाई सक्रिय र प्रभावकारी बनाउन नेपाल सरकार तथा संवैधानिक परिषद्को ध्यानाकर्षण गराएको छ ।

‘पेशागत उत्कृष्टता, हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ वीरगञ्जमा सम्पन्न भएको राष्ट्रिय सम्मेलनमा देशभरका करिब ४ सय भन्दा बढी महिला कानुन व्यवसायीको सहभागिता रहेको थियो ।

सम्मेलनको शुक्रबार एक भव्य कार्यक्रमबिच सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button