तपाईँ सुन्दै हुनुहुन्छः

रेडियोकर्मी सम्मानित

काठमाडौं । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानले पत्रकार नरहरि न्यौपानेलाई सम्मान गरेको छ । न्यौपानेलाई प्रतिष्ठानको आठौँ महाधिवेशनका अवसरमा लोक पत्रकारिता सम्मान प्रदान गरिएको हो ।
न्यौपाने रेडियो नेपालमा २५ वर्षदेखि कार्यरत हुनुहुन्छ ।
रेडियो नेपालका गाउँबेँसी, लोकलहरी, रोधी जस्ता लोकप्रिय कार्यक्रम मार्फत उहाँले लोक दोहोरीको वृद्धि विकासमा अतुलनीय योगदान दिएकोले उहाँलाई सम्मान गरिएको प्रतिष्ठानका केन्द्रीय सदस्य अमृत अधिकारीले जानकारी दिनुभयो ।
पत्रकार न्यौपानेले लोकसङ्गीतले नै देशलाई चिनाउने, धरातल बुझाउने र जीवन पद्धति झल्काउने भएकाले आफूले सधैँ लोकगीतको सेवा गरिरहेको बताउनु भयो । आफ्नै रुचि र जिम्मेवारीबोधका कारणले लोक सङ्गीतको निरन्तर सेवा गरेको र त्यो देखेर प्रतिष्ठानले सम्मान गर्दा आफूलाई थप उत्साह थपिएको उहाँको भनाई छ ।

धादिङबेसीमा भएको प्रतिष्ठानको महाधिवेशन उद्घाटन समारोहमा लोक स्रष्टा सम्मान भने बरिष्ठ लोक गायक तथा स्रष्टा पुरुषोत्तम न्यौपानेलाई प्रदान गरिएको छ । उहाँ पनि रेडियो नेपालको पोखरा क्षेत्रीय प्रसारणमा कार्यरत हुनुहुन्छ । उहाँका दर्जनौँ गीत चर्चित छन् भने उहाँ प्रतिष्ठानका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।

त्यसैगरी स्व. लोकबहादुर क्षेत्री स्मृति सम्मान बरिष्ठ गायिका चन्द्रकला शाहलाई प्रदान गरिएको छ । उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले अन्य स्रष्टा तथा सहयोगदातालाई पनि सम्मान गर्नु भएको थियो ।

शुक्रबारदेखि सुरु भएको प्रतिष्ठानको महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । महाधिवेशनमा संस्थाको आगामी कार्यकालका लागि अध्यक्षमा गायिका रीता थापा मगर र गायक पशुपति शर्मा अध्यक्षका आकांक्षी देखिनुभएको छ । बयालीस हजारभन्दा सदस्य भएपनि हजार बढी प्रतिनिधि कार्यक्रममा सहभागी रहेको प्रतिष्ठानले जनाएको छ । महाधिवेशन फागुन १४ गते समापन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button