तपाईँ सुन्दै हुनुहुन्छः

रत्न श्रेष्ठ पुरस्कारबाट ६ जना लेखक साहित्यकार पुरस्कृत

बागलुङ । मोफसलकै पहिलो संस्था रत्न श्रेष्ठ पुरस्कार गुठी बागलुङले यसबर्ष ६ जना लेखक साहित्यकारलाई पुरस्कृत गरेको छ ।

गुठीले प्राज्ञ प्रेम छोटाकी स्वर्गीय माता रत्न श्रेष्ठको १ सय १५ औ पुण्य तिथि तथा ४६औँ स्मृति दिवसको अवसरमा आज एक समारोहको आयोजना गरी विभिन्न विधाका लेखक तथा साहित्यकार ६ जनालाई पुरस्कार प्रदान गरेको हो ।

संस्थाले रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कारबाट पाल्पा निवासी कृष्ण उपन्यासका लेखक उपन्यासकार डाक्टर शङ्कर प्रसाद गैरेलाई नगद ५० हजार, रत्न श्रेष्ठ प्रादेशिक पुरस्कारबाट सूर्यनाथ सापकोटा र सरोजराज पन्तलाई जनही १२ हजारसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ ।

त्यस्तै, धौलागिरि प्रतिभा पुरस्कारबाट म्याग्दीका कृष्ण बानियाँलाई नगद १५ हजार, जगतचन्द्र राष्ट्रिय पुरस्कारबाट ललितपुर निवासी रुकु कार्कीलाई नगद २५ हजार र गुरु गणेश बिष्णु स्मृति पुरस्कारबाट त्रिपुरेश्वर महादेश मन्दिर परमानन्द सन्यास आश्रम बिहुँ रामकोटका  उत्कृष्ट छात्र शुभम पन्तलाई नगद ८ हजार र प्रशंसा पत्रसहित दोसल्ला ओढाएर पुरस्कृत गरेको हो ।

सो अवसरमा गुरु गणेश स्मृति कोषका संस्थापक संरक्षक भरत कुमार श्रेष्ठ, सम्मानित व्यक्तित्व डा. शङ्कर प्रसाद गैरे, रुकु कार्की कृष्ण बानिया र म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुवलाल गौतम लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सम्मानित व्यक्तित्व तथा कृतिको टिप्पणी धौलागिरि बहुमुखी क्याम्पसका सहायक प्राध्यापक हरिप्रसाद पाण्डेले गर्नुभएको थियो ।

कार्यक्रम रत्न श्रेष्ठ पुरस्कार गुठीका संस्थापक संरक्षक प्राज्ञ प्रेम छोटाको अध्यक्षता, प्रबन्ध समिति सदस्य देब बहादुर श्रेष्ठको स्वागत मन्तव्य र सचिव महेशचन्द्र प्रधानको सञ्चालनमा सम्पन्न भएको थियो ।

पुरस्कारका लागि आव्हान गरिए अनुसार ३० वटा विभिन्न विधाका कृति प्राप्त भएको र त्यस मध्यबाट ६ जना लेखकको कृति छनौट गरि पुरस्कार प्रदान गरिएको सदस्य सचिव महेशचन्द्र प्रधानले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button