ठूलो सङ्घर्ष र बलिदानको बलमा आएको संघीय गणतन्त्र समाप्त हुँदैन : पूर्व राष्ट्रपति यादव

जनकपुरधाम । पूर्व राष्ट्रपति डा. रामवरण यादवले ८ दशक लामो आन्दोलन तथा जनताको बलिदानले प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रलाई कसैले समाप्त गर्न नसक्ने बताउनु भएको छ ।
पूर्व राष्ट्रपति डा. यादवले नभ मिथिला फाउण्डेशनको आयोजनामा आज देखि जनकपुरधाममा शुरु भएको “जनकपुर साहित्य महोत्सव २०७९”को उद्घाटन गर्दै जनताको ठूलो सङ्घर्षपछि स्थापना भएको लोकतन्त्रको रक्षाका लागि युवा पङ्ति बढी सजग र सचेत रहनु पर्ने धारणा राख्नु भयो ।
उहाँले कुनै बेला अन्नको भण्डार रहेको तराई मधेशका जिल्लाहरूबाट खाद्यान्न भारत सहितका देशमा निर्यात हुँदै आएकोमा अहिले आएर वर्षको ३ खर्बको खाद्यान्नहरू आयात हुनु चिन्ताको विषय भएको बताउँदै चुरेको विनाश रोक्न आवश्यक रहेकोमा जोड दिनु भयो ।
पूर्व राष्ट्रपति डा. यादवले जल, जङ्गल र जमिनको संरक्षण गर्दै भावी पुस्तालाई सुरक्षित भूमि हस्तान्तरण गर्न जरुरी रहेको बताउँदै जनकपुरधामको मठ मन्दिर र पोखरीको संरक्षण सहित सुन्दर र सफा जनकपुरधाम बनाउने तर्फ ध्यान दिन जरुरी रहेको बताउनु भयो । चुरे र पहाडको संरक्षण भएन भने अबको २५–३० वर्षमा तराई मधेशका जिल्लाहरू मरुभूमिमा परिणत हुने विज्ञहरूले बताउँदै आउनु भएको पूर्व राष्ट्रपति यादवले व्यक्त गर्नु भयो ।
उहाँले चुरेको विनाशका कारणले अहिले तापक्रम बढ्दै गएको फागुन महिनामा पनि कम्बल ओढ्ने अवस्था नहुनु यसको उदाहरण भएको बताउनु भयो ।
वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले मुलुकको विकास तथा समृद्धिको यात्रामा राजनीतिक दल संवेदनशील बन्न नसकेको र आम जनतामा राजनीतिक प्रति वितृष्णा फैलनु चिन्ताको विषय भएको बताउँदै दलका नेताहरूलाई आचरण तथा व्यवहारमा सुधार गर्न जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा संघीय सांसद प्रदीप पौडेल, मनिष कुमार झा, प्रदेश सभाका सदस्य दीपेन्द्र ठाकुर, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, भारतको वीरगञ्जमा रहेको महावाणिज्य दूतावासका महावाणिज्य दूत नितेश कुमार, वातावरण विद डा. विजय सिंह सहितका वक्ताहरूले बोल्नु भएको थियो ।
जनकपुरधामको जानकी मन्दिरमा शुरु भएको जनकपुर साहित्य महोत्सवमा विभिन्न क्षेत्रका विद्वान तथा विदुषीहरू सहभागी भएर समसामयिक विषयमा संवाद तथा अन्तरसम्बाद र बहस कार्यक्रम रहेको छ । यसमा विभिन्न क्षेत्रका विद्वान, विज्ञ तथा प्रखर वक्ताहरू सहभागी रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्