तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री कार्कीद्वारा प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन

विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको परिसरमा निर्माण गरिएको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ ।  कार्यालयको हाताभित्र आयोजित कार्यक्रममा प्रदेश न १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शिलालेख अनावरण गर्दै भवनको उद्घाटन गर्नु भएको हो । 

कार्यक्रममा बोल्नु हुँदै मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधारको अभाव र अपर्याप्तताले प्रहरी सेवाको कार्यमा प्रत्यक्ष असर पर्ने भन्नुहुँदै नव निर्मित भवनले सेवा प्रभावमा थप सहयोग पुर्‍याउने बताउनुभयो ।

सुरक्षाकर्मी सुरक्षित भएमा आम नागरिकले सुरक्षाको प्रत्याभूति गर्न पाउने भन्नुहुँदै उहाँले सुरक्षाकर्मीको सुरक्षामा प्रदेश सरकार सदा तत्पर रहेको बताउनुभयो ।

नेपाल प्रहरीले दिने सेवा प्रभालाई प्रभावकारी बनाउन प्रदेश सरकारले प्रहरी कार्यालयमा सवारी साधन लगायत विभिन्न प्रकारको सहयोग गर्दै आएको उहाँले बताउनुभयो । 

कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले शान्ति सुरक्षा कायम गर्नु सबैको साझा जिम्मेवारी रहेको बताउँदै प्रदेश सरकारको सहयोगमा निमार्ण भएको  नयाँ भवनले कार्यरत प्रहरी कर्मचारीको थप मनोबल उच्च हुनुका साथै  कार्यालयबाट आम नागरिकमा प्रदान हुने सेवा समय अनुसार स्तरीय हुँदै जाने बताउनुभयो ।

प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले नयाँ भवनको निमार्णले नेपाल प्रहरीलाई काम गर्न सहज भएको  बताउनुभयो । 

कार्यक्रममा मुख्यमन्त्री कार्कीले भवन निर्माणमा उल्लेखनीय योगदान पुर्‍याउने निमार्ण कम्पनी र १ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ढुण्डीराज गिरी र महेश भट्टराईलाई प्रशंसा पत्रद्वारा सम्मान गर्नु भएको थियो । 

कार्यक्रममा प्रहरी उपरीक्षक अनिल रानाले भवन निमार्ण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रदेश न १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा १९ करोड १४ लाख रुपैयाँको लागतमा सो भवन निमार्ण भएको हो । पाच तल्ले सो भवनमा साना ठुला गरि ७५ वटा कोठाहरू रहेका छन् ।

कार्यक्रममा उच्च अदालत विराटनगरका न्यायाधीश प्रदेश सरकारका मन्त्री स्थानीय जनप्रतिनिधि सुरक्षा निकायका प्रमुख तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो 

प्रतिक्रिया राख्नुहोस्

Back to top button