तपाईँ सुन्दै हुनुहुन्छः

केही गर्ने हुटहुटीले गर्दा ऊर्जा मन्त्रालय नै रोजेँ : उपप्रधानमन्त्री लिङदेन 

इलाम । उपप्रधानमन्त्री तथा जलस्रोत सिँचाई ऊर्जा मन्त्री राजेन्द्र लिङदेनले आफु ऊर्जा क्षेत्रको बारेमा केही पनि जानकारी नभएको मान्छे भए पनि केही गर्ने हुटहुटीले गर्दा ऊर्जा मन्त्रालय नै रोजेको बताउनुभएको छ ।  

इलामको रोङ  गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिक स्थल कान्छी पाथीभरा माता मन्दिरको अवलोकन दर्शन तथा मन्दिरको नयाँ व्यवस्थापन शुभारम्भ कार्यक्रम उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । 

राप्रपा अध्यक्ष समेत रहनु भएका उपप्रधानमन्त्री लिङदेनले चाडै जनताबाट सेयर निष्कासन गराएरै विद्युत् प्राधिकरणद्वारा विद्युत् उत्पादनको प्रक्रिया अगाडी बढाउने बताउनु भयो । उहाँले शेयर निष्कासनबाट सकंलित रकमले अरू बिद्युतका उत्पादन गरी देशको आर्थिक विकासलाई माथि उठाउने योजनाका साथ आफु अगाडी बढिरहेको बताउनु भयो । 

उहाँले जनता आफै बिद्युतको सेयर धनी हुने र जनताकै पैसालाई सही रुपमा परिचालन गरेर बिद्युत् उत्पादन अरू बढाउँदै भारत बङ्गलादेश लगायत अरू देशबाट विद्युत् बेचेर विदेशी मुद्रा आर्जनमा अगाडी बढ्ने आफ्नो नीति रहेको बताउनुभयो । उहाँले निष्कासित शेयर मध्ये २९ प्रतिशत खाडीमा रहेको युवालाई दिइने जानकारी दिनु भयो । उहाँले नतिजा देखिने गरी आफूहरू काम गरिरहेकोले छिट्टै जनताले आभास गर्न पाउने बताउनु भयो । 

रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङबोले पाथीभरा इलामकै एक उच्च भक्तजनको आवागमन हुने मन्दिर भएको र यहाँ चढाइएका भेटीहरूको सही र पारदर्शी राखेर मन्दिरको सही विकासमा टेवा पुगोस् भनेर मन्दिरको स्वामित्व गाउँपालिकाले लिएको जानकारी दिनु भयो । 

उहाँले १ वर्षमा मन्दिरबाट १ करोड सम्म राजस्व उठ्न सक्ने आफूहरूको अनुमान रहेको र त्यसको सही सदुपयोग गर्न सके समग्र गाउँपालिकाकै विकासमा टेवा पुग्ने भएकोले पनि मन्दिरको समग्र विकासमा प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर अगाडी बढ्ने बताउनु भयो । 

कार्यक्रममा जिल्ला समन्वय समिति इलामका अध्यक्ष जय प्रकाश राई सूर्योदय नगरपालिकाका मेयर रण बहादुर राई रोङ गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया खवास लगायतले बोल्नु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button