सञ्चार क्षेत्रले सङ्घीयताको अनुभूति गर्न पाएन : अध्यक्ष पोख्रेल

सल्यान । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले सञ्चार क्षेत्रले अझै सङ्घीयताको अनुभूति गर्न नपाएको बताउनु भएको छ । अहिले पनि सञ्चार सम्बन्धी कानुनका कारण प्रदेश र स्थानीय तहमा सञ्चार माध्यम र पत्रकारिताका क्षेत्रको विकासका लागि राज्यले अभिभावकत्वको भूमिका खेल्न नसकेको बताउनुभयो ।
सोमबार नेपाल पत्रकार महासङ्घ सल्यानले आयोजना गरेको सल्यानको पत्रकारिताको अवस्था र चुनौती विषयक छलफल कार्यक्रममा बोल्दै उहाँले जुन दलको सरकार बने पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मैत्री बन्न नसकेको बताउनु भयो । राज्यले निर्माण गर्ने कानुनहरूले प्रेस स्वतन्त्रतामा सुनिश्चित हुन्छ भनेर आश्वस्त पार्न नसकेको भन्दै उहाँले सरकारले सञ्चार क्षेत्रको अभिभावकत्व ग्रहण गर्न नसकेको बताउनु भयो ।
आम सञ्चार प्रतिष्ठान बनाउनका लागि महासङ्घले वर्षौँ देखि आवाज उठाउँदै आएको, र सरकारको बजेट भाषणमा समेटिए पनि अहिले सम्म गठन हुन नसकेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘राज्य अहिले सम्म हाम्रो अभिभावक बन्न सकेको छैन, हाम्रो दिगोपनाको लागि काम गरौँ भन्दा पनि छैन, प्रेस स्वतन्त्रता सम्बन्धी कानुन बनाएर अभिभावकत्व ग्रहण गर भन्दा पनि ध्यान दिँदैन, मिडियाको प्रवर्द्धनका लागि राज्य उदासिन देखिएको छ ।’
नागरिकका सूचना दिने काम सञ्चार माध्यमको भएकाले विकासका नाममा, भौतिक पूर्वाधार निर्माण गर्नु मात्र नभएर सञ्चार क्षेत्रका दिगो विकासका लागि राज्यले लगानी गर्न आवश्यक रहेको बताउनु भयो । सञ्चार क्षेत्रको लागि भनेर छुटयाएको बजेट मिडियामै खर्च गर्नुपर्ने, र मिडियालाई मोलमोलाइको रुपमा नहेर्न आग्रह गर्नुभयो ।
अध्यक्ष पोख्रेलले पत्रकारहरूका विषयमा पनि समाजमा विभिन्न प्रश्न उठेकाले पत्रकार पेसालाई व्यवसायीक र मर्यादित बनाउनको लागि महासङ्घ प्रतिबद्ध भएको भन्दै शुद्धीकरण अभियान सञ्चालन गरिने बताउनु भयो । सूचना दिने र लिने मात्र नभएर नयाँ आयामको खोजी गरेर पत्रकारिता गर्नु अहिलेको आवश्यकता भएको पोख्रेलले बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले सल्यानको पत्रकारिता स्वच्छ, मर्यादित रहेकाले यसलाई कायम राख्नु पर्ने बताउनुभयो । उहाँले पत्रकारहरूको भूमिका जिल्लाको विकासमा केन्द्रित भएकाले सुरक्षित पत्रकारिताका लागि आफूले सहयोग गर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्