लघुवित्त संस्था लक्षित नेकपाको आन्दोलन

रुकुम पश्चिम । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा रुकुम पश्चिमले लघुवित्त संस्था तथा बैङ्क मार्फत भइरहेको अर्को ब्याज केन्द्रित आन्दोलन शुरु गरेको छ ।
पार्टीको छैंटौ जिल्ला समितिको प्रथम पूर्ण बैठकका निर्णयपछि विरोध र्याली समेत गरेको छ । जसअनुसार केही दिन अघि जिल्ला सदरमुकाम मुसिकोट खलंगामा पीडित व्यक्तिहरूको सहभागितामा लघुवित्त विरुद्ध प्रदर्शन गरेको नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रबहादुर बुढाले जानकारी दिनुभयो ।
उहाँका अनुसार लघुवित्तले जनतामा लुट मच्चाएकोले यसका विरुद्धमा विभिन्न आन्दोलनका कार्यक्रमहरू सञ्चालन गरिएको हो । जिल्ला पार्टीको बैठकले पनि लघुवित्त सहितका अन्य जिल्लामा पछिल्लो समय देखिएका समस्या समाधानका लागि आन्दोलन गर्ने निर्णय गरेको जिल्ला सेक्रेटरी भाष्कर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले बैङ्क तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदरलाई एकल अङ्कमा कायम गर्नुपर्ने, लघुवित्त संस्थाहरूले ऋण लगानीमा हाल लिने गरेको सेवा शुल्क १ देखि १.५ प्रतिशतलाई घटाएर ०.५ प्रतिशत कायम गर्नुपर्ने र यसभन्दा पहिले सेवा शुल्क बापत लिइएको बढी रकम फागुन १५ गते भित्र सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न दबाब दिने निर्णय पनि गरिएको छ ।

त्यस्तै लघुवित्त संस्थाहरूले आफ्नो लक्ष पुरा गर्ने नाममा गाउँ घरका सोझासाझा महिलाहरूको समूह बनाउने र अनुत्पादक क्षेत्रमा ऋण दिएर सर्वसाधारण महिलाहरूलाई जवर्जस्त ऋणी बनाउने कार्य तत्काल बन्द गर्न, लघुवित्त संस्थाहरूले बिना धितो लगानी गर्ने कर्जाको सीमा बढाएर उत्पादनमूलक क्षेत्रमा उद्यम गर्न चाहनेलाई सरल रुपमा आवश्यक वित्तीय एवम् व्यावसायिक तालिम तथा शिक्षा प्रदान गरेर मात्रै लगानी गर्न र स्वदेशमै उद्यमी बनेर केही गर्न चाहने युवाहरूको लागी वाणिज्य तथा विकास बैङ्कहरूले सरल र सहज रुपमा बिना धितोमा दिनुपर्ने पनि काम गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्