तीर्थयात्रीलाई यात्रा सहजता प्रदानका लागि सहकार्य हुने : मुख्यमन्त्री यादव

जनकपुरधाम । मुख्यमन्त्री सरोज कुमार यादवले १५ दिवसीय मिथिला मध्यमा परिक्रमा आजदेखि शुरुवात गर्नु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नंं ८ कचुरीस्थित मिथिला बिहारी मठमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मिथिला बिहारी अर्थात् भगवान् रामको डोला उठाएर जनकपुरधामको लागि प्रस्थान गराउनु भएको छ ।
मिथिला बिहारीको डोला जनकपुरधामको हनुमानगढी रात्रि विश्राम गरेर भोलि बिहान भारतको विहार राज्यको कल्याणेश्वर तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
मिथिला बिहारी नगरपालिकाले आज आयोजना गरेको परिक्रमा शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री सरोज कुमार यादवले परिक्रमा यात्रीको परिक्रमा अवधि भरिमा कुनै प्रकारको कष्ट नहोस् भन्नका लागि प्रदेश सरकार हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

उहाँले वृहत् धार्मिक पदयात्रालाई व्यवस्थित गर्न स्थानीय सरकारसित प्रदेश सरकारले समन्वय गर्नुका साथै यस कार्यमा सहजीकरणका लागि संघीय सरकारसँग आग्रह गर्नुभयो । मुख्यमन्त्री यादवले तीनै तहको सरकारले परिक्रमामा सहभागी हुने यात्रीको यात्रा सहज बनाउनका लागि अपनाउनु पर्ने उपायहरूको बारेमा सोच्नका लागि आग्रह गर्नु भयो ।
उहाँले वृहत् परिक्रमा विकास समिति गठनको लागि संघीय सरकारसित समेत पहल गर्ने बताउनुभयो । मुख्यमन्त्री यादवले मिथिला बिहारी मठलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने बताउनु भयो । जनकपुरधाम आउने धार्मिक पर्यटकहरू मिथिला बिहारी मठमा दर्शन पूजा गर्दै धनुषाधाम जाने वातावरण बनाउने तर्फ पहल गर्न जरुरी रहेको मुख्यमन्त्री यादवले बताउनु भयो ।
मिथिला बिहारी नगरपालिकाका नगर प्रमुख राजेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा मधेश प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादव, प्रतिनिधिसभा सदस्य प्रतीक्षा तिवारी, प्रदेशसभा सदस्यद्वय शेषनारायण यादव, कुमरकान्त झा, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह लगायतको उपस्थिति रहेको थियो ।

मिथिला बिहारी मठका महन्थ रामनरेश शरणको नेतृत्वमा मिथिला बिहारीको डोला जनकपुरधामको लागि प्रस्थान गरेको छ । धनुषाको मिथिला विहारी नगरपालिका वडा नंं ८ कचुरीको मठबाट डोला निस्केसँगै प्रत्येक वर्ष झैँ मिथिला मध्यमा परिक्रमाको शुभारम्भ भएको हो । अनेकतामा एकताको विशिष्ट उदाहरण रहेको मिथिला मध्यमा परिक्रमा १५ दिनसम्म चल्नेछ ।
नेपाल भारतको साझा धरोहर रहेको मिथिला परिक्रमाका तीर्थयात्रीहरू खाली खुट्टा भजन कीर्तन सहित नेपालको १०७ र भारतको २६ किलोमिटर गरेर १ सय ३३ किलोमिटरको दूरी तय गर्दै फागु पूर्णिमा भन्दा एक दिन अगाडी जनकपुरधाम आएर रात्रि विश्राम पछि जनकपुरधामको अन्तरगृह परिक्रमा पछि घर फर्किने र त्यसको भोलिपल्ट होली खेल्ने चलन भएकाले मिथिलामा होली पूर्णिमा भन्दा एक दिनपछि खेलिन्छ ।









प्रतिक्रिया राख्नुहोस्