तपाईँ सुन्दै हुनुहुन्छः

सेनाले बनायो ओखलढुङ्गा ऐतिहासिक संग्राहलय

ओखलढुङ्गा।नेपाली सेनाले ओखलढुङ्गा ऐतिहासिक संग्राहलय निर्माण गरेको छ । सेनाको अरिदमन गणले सिद्धिचरण नगरपालिका ४ रुम्जाटारमा पृथ्वी नारायण साहले राज्यएकिकरणमा प्रयोग गरेका हातहतियारलगायतका पुरातात्त्विक सामाग्रीको संरक्षण गर्ने उद्देश्यले ऐतिहासिक संग्रालय बनाएको हो ।

शुक्रबार एक औपचारिक कार्यक्रमका बीच उक्त संग्राहलय उद्घाटन गरिएको छ । सेनाले २० लाख खर्चेर निर्माण सम्पन्न गरेको संग्राहलयको स्वामित्व समेत स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । श्री नं. १८ बाहिनीपति सहायक रथी सन्तोषराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमकै बीच संग्राहलय सिद्धिचरण नगरपालिकालाई सेनाले हस्तान्तरण गरेको हो ।

सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले नेपाली सेनाले निर्माण गरेको संग्राहलयले जिल्लाको सुन्दरतामा ऐतिहासिकता थपेको बताउनुभयो । नगरपालिकाको स्वामित्वमा आएपनि अझै केही समय यसको व्यवस्थापन र दिगोपनामा नेपाली सेनाको साथ आवश्यक रहेको नगरप्रमुख खनालको भनाई थियो ।

‘ओखलढुङ्गा विभिन्न इतिहाससँग जोडिएको जिल्ला हो । सेनाले निर्माण गरेको यो संग्राहलयले अब पुराना इतिहासको संरक्षणमा टेवा पुग्नेछ । यसको सञ्चालन र व्यवस्थापन नगरपालिकाले गर्छ ।’ खनालले भन्नुभयो, ‘अहिले यसको व्यवस्थापनका लागि नेपाली सेनाकै साथको खाँचो छ ।’ नगरसभाबाट संग्राहलय सञ्चालन तथा व्यवस्थापन कार्यविधि बनाएर काम गर्ने नगरप्रमुख खनालको भनाई छ ।देशको रक्षा र इतिहासको संरक्षणमा नेपाली सेनाले ओखलढुङ्गाको ऐतिहासिकता झल्काउने संग्राहलय निर्माण गरेको सहायक रथी सन्तोषराज पाण्डेको भनाई थियो ।

पृथ्वीनारायण शाहले एकीकरण अभियान सञ्चालन गर्नुअघि र पछि जिल्लामा थुप्रै इतिहास रहेकोले त्यसलाई संग्रहित गर्न संग्रालय निर्माण गरिएको गणपति ईमेश मेयर श्रेष्ठले बताउनुभयो । त्यो समयमा रुम्जाटार आक्रमण गर्ने बेलामा प्रयोग भएका हात हतियार अहिले पनि घरघरमा संरक्षित भएको पाइएकोले इतिहासलाई संरक्षण गरौँ भन्ने उद्देश्यले उक्त कार्य अघि बढाइएको गणपति श्रेष्ठको भनाइ छ ।

नेपाली सेनाको क्वीक इनप्याक्ट प्रोजेक्टबाट निर्माण गरिएको संग्रालयमा रुम्जाटार आक्रमणमा प्रयोग गरिएका हतियारहरु, बाइङ् राईले लगाएको मुकुट,त्यसबेला प्रयोग गरेको धनुष, पोसाकहरू लगायतका मौलिक चिजहरू राखिएको छ । ओखलढुङ्गाको ऐतिहासिकतासँगै प्राचीन संस्कृति परम्परासँग जोडिएको विभिन्न सामाग्रीहरूको साथमा भेषभूषा समेत सङ्ग्रहालयमा राखिएको छ । ढकन, तुलो, चिलिम डन्डी, सास्त्री (फोरेसो), ढाँडु, जाँतो, टुकी, धिप्रि, कपडा बुन्ने तानदेखि राँटा (चर्खा), ढडिया (ढोक्सा) जस्ता दर्जनौँ प्रकारका लोपोन्मुख सामाग्री समेत संग्राहलयमा सजाइएको छ ।

लमजुङबाट मूर्ति ल्याएर रुम्जाटारमा कालिका मन्दिर स्थापना गरी त्यसबेला फौज बसेको किंवदन्ती छ ।संग्रालय निर्माणपछि आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्ने सिद्धिचरण नगरपालिका ४ का वडाअध्यक्ष रत्नबहादुर गुरुङले बताउनुभयो । रुम्जाटारलाई पूर्वी नेपालको सुन्दर सहरका रुपमा विकास गर्ने योजना समेत अघि बढाइएको उहाँको भनाई छ । ‘घुमीफिरी रुम्जाटार भन्ने उखानले परिचित यो ठाउँलाई पूर्वाधार विकास र पर्यटकीय क्षेत्रहरूको विकास र विस्तार गरेर सुन्दर सहरका रुपमा चिनाउन लागिपरेका छौँ ।’

वडाअध्यक्ष गुरुङले भन्नुभयो, ‘यहाँको विमानस्थल, प्रदेशकै ठुलो गुम्बा, धार्मिक क्षेत्र, यातायात र जिल्ला अस्पताल जस्ता महत्वपूर्ण कार्यालय भएकाले यहाँ आन्तरिक तथा बाह्य व्यक्तिहरूको आवागमन त बढेकै छ । अब यो सेनाले बनाएको ऐतिहासिक संग्राहलय र प्रदेश सरकारले बनाएको सांस्कृतिक संग्राहलयले झन् रुम्जाटारको आकर्षण बढाउने छ ।’ पर्यटकको स्वागतका लागि रुम्जाटारमा स्वागत गेट समेत बनाइएको अध्यक्ष गुरुङले बताउनुभयो ।

रुम्जाटारमा प्रदेश सरकारको पहलमा सांस्कृतिक संग्राहलय पनि निर्माणाधीन अवस्थामा छ । घुमिफिरी रुम्जाटारले परिचित पूर्वी पहाडको समथर भूभाग रुम्जाटारलाई स्मार्ट सिटीका रुपमा विकास गर्न थालिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button