तपाईँ सुन्दै हुनुहुन्छः

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको बताउनुभएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) को ६२ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नागरिकको सूचनाको हकलाई सुनिश्चित गर्न राससले आफ्नो सेवालाई चुस्त दुरुस्त बनाउँदै जनताको सूचना पाउने हकको सम्मानमा लाग्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको भन्दै लोकतन्त्रप्रतिको आस्था र जनताको मौलिक हकको सम्मानमा सरकार दृढ रहेको पनि स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले प्रतिस्पर्धाको युगमा राससले अन्य सबै सञ्चारमाध्यम भन्दा आफूलाई अब्बल बनाउनेमा विश्वास व्यक्त गर्नुभयो । 

उहाँले राससको विकास र संस्थागत हितका पक्षमा सरकारले सधैँ अभिभावकको भूमिका निर्वाह गर्ने विश्वाससमेत दिलाउनुभयो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राससले आफ्नो सेवालाई सशक्त,  गुणस्तरीय भरपर्दो र विश्वसनीय बनाउन आवश्यक रहेको बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले राससले आफ्नो सम्पत्तिको सही सदुपयोग र संस्थाको सबलीकरण गर्न पुनर्संरचना गरेर जानुपर्ने औँल्याउनुभयो । 

राससले वार्षिकोत्सवका अवसरमा आज दुई वटा पुस्तक ‘रासस हिजो र आज’ र ‘राससको शैली पुस्तिका’ विमोचन गर्नुका साथै गोरखापत्र, द हिमालय टाइम्स दैनिक र लोकान्तर अनलाइनलाई उत्कृष्ट सेवाग्राही सम्मान गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button