तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रेको धुलिखेल नगरपालिका कार्यसम्पादनमा उत्कृष्ट 

काभ्रेपलाञ्चोक । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा काभ्रेपलाञ्चोक जिल्लाका १३ स्थानीय तहमध्ये धुलिखेल नगरपालिका उत्कृष्ट भएको छ ।

काभ्रेपलाञ्चोक जिल्लामा छ नगरपालिका र सात गाउँपालिका गरि जम्मा १३ वटा स्थानीय तहहरू रहेका छन् । जसमा सबैभन्दा बढी अङ्क ६५ दशमलव प्राप्त गरी धुलिखेल नगरपालिका यस वर्ष उत्कृष्ट कार्यसम्पादन मूल्याङ्कनमा परेको हो । 

जिल्लाको नमोबुद्ध नगरपालिकाले कार्यसम्पादन ६४ दशमलव ६० अङ्क प्राप्त गरी दोस्रो स्थान हासिल गरेको छ भने चौँरीदेउराली गाउँपालिकाले ६२ दशमलव १३ अङ्क प्राप्त गरी तेस्रो भएको छ । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदनअनुसार काभ्रेपलाञ्चोकको अन्य स्थानीय तहहरूमा बनेपा नगरपालिकाले ६१ दशमलव ८५, रोशी गाउँपालिकाले ६१ दशमलव १२, बेथानचोक गाउँपालिकाले ५९ दशमलव ८७, पनौती नगरले ५५ दशमलव ३८, भुम्लु गाउँपालिकाले ५२ दशमलव ९०, खानीखोला गाउँपालिकाले ५२ दशमलव २८, पाँचखाल नगरले ५२ दशमलव २५, तेमाल गाउँपालिकाले ४९ दशमलव ८७, मण्डनदेउपुर नगरले ४६ दशमलव ५७ र महाभारत गाउँपालिकाले ४६ अङ्क प्राप्त गरेका छन् । 

त्यस्तै, प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङ्कन प्रतिवेदनअनुसार वित्त आयोगले विभिन्न १९ सूचकलाई मध्यनजर गर्दै प्रदेशको समेत कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ । सोही अनुसार बागमती प्रदेशले भने ३६ दशमलव एक अङ्क प्राप्त गरेको छ । यसमा लेखापरीक्षण, बेरुजु फछ्र्यौट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व सङ्कलनलगायत विषयलाई सूचकका रूपमा राखिएको छ ।

प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ का आधारमा मूल्याङ्कन गरेर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेशलाई यस्तो अङ्क प्रदान गर्ने गर्दछ । 

कार्यसम्पादनबाट प्राप्त अङ्कका आधारमा प्रदेश तथा स्थानीय तहले सङ्घ सरकारबाट पाउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button