तपाईँ सुन्दै हुनुहुन्छः

राससको ६२औँ वार्षिकोत्सव : सञ्चारमन्त्री शर्माकाे शुभकामना

काठमाडौँ।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय समाचार समिति समयानुकूल अझ विश्वसनीय, सशक्त र प्रभावकारी समाचार स्रोतका रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।

राससको ६२औँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना दिँदै उहाँले सूचना प्रविधि र पाठकको रुचिमा आएको परिवर्तनलाई आत्मसात् गर्दै सेवाग्राहीको सङ्ख्या वृद्धि गर्ने, उपलब्ध जनशक्ति र भौतिक सम्पत्तिको अधिकतम् सदुपयोग गर्नुका साथै आम्दानी वृद्धि गरी आफूलाई आत्मनिर्भर बनाउन ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले आफ्ना नीति तथा कार्यक्रमका साथ सूचना प्रविधिलाई अधिकतम् उपयोग गरी आफ्नो सेवालाई विविधीकरण र व्यावसायिककीकरण गर्दै रासस अझ विश्वसनीय र भरपर्दो सञ्चारमाध्यमका रुपमा स्थापित हुन सकोस् भनी कामना गर्नुभएको छ । मन्त्री शर्माले राससलाई प्रभावकारी सञ्चारमाध्यमका रुपमा विकास गर्न आवश्यकपर्ने साधनस्रोत उपलब्ध गराउन र कर्मचारीको उत्प्रेरणा तथा वृत्तिविकासमा सरकारबाट सहयोग हुने विश्वास दिलाउनुभएको छ ।

सरकार सञ्चारमाध्यमसँग सम्बन्धित र सरोकारवाला सबैसँग सहकार्य गर्दै यससँग सम्बन्धित कानुनमा समसामयिक सुधार गरी सङ्घीयताको मर्म र भावनालाई स्थानीय तहसम्मै अनुभूति गर्ने गरी संशोधन, परिमार्जन र नयाँ बनाउन लागिपरेको उहाँको भनाइ छ ।

मन्त्री शर्माले नेपाली सञ्चार क्षेत्रमा देखिएका मिथ्या सूचनाको प्रवाह गर्ने तथा सामाजिक द्वेष फैल्याउने कार्यमा निणन्त्रण गर्न सञ्चार सम्बद्ध सबै पक्षको सकारात्मक सहयोगका लागि आह्वान समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button