तपाईँ सुन्दै हुनुहुन्छः

जिल्लामै पहिलो पटक इन्डोस्कोपी तथा कोलोनोस्कोपी सेवा 

दोलखा । सदरमुकाम चरिकोटमा नीजि लगानीमा सञ्चालित च्छो– रोल्पा जनरल अस्पतालले दोलखा जिल्लामै पहिलो पटक अत्याधुनिक मेशिनबाट इन्डोस्कोपी र कोलोनोस्कोपी सेवा सुरु गरेको छ । 

अस्पतालको १७ औँ वार्षिक उत्सवको अवसरमा सञ्चालन भएको विशेष स्वास्थ्य शिविरबाट इन्डोस्कोपी तथा कोलोनोस्कोपी सेवा सुरु गरिएको हो । 

शिविरमा ३० जनाले उक्त सेवा लिएको अस्पतालका मेडिकल डाईरेक्टर डा. विनोद दंगालले बताउनुभयो । 

शिविरमा एमसिएच÷जिआई सर्जन डा. रोनी दाहाल, जनरल सर्जन डा. अर्चना केसी, एनेस्थियोलोजिस्ट डा. तुलसिराम श्रेष्ठ, नर्स गंगा केसी लगायतले सेवा दिनुभएको थियो ।

अस्पतालले अब निकट भविष्यमै इन्डोस्कोपी तथा कोलोनोस्कोपी सेवालाई सुचारु गर्ने र काठमाडौँको भन्दा कम शुल्कमा बिरामीले उक्त सेवा पाउनसक्ने डा. दंगालले बताउनुभयो । अस्पतालले इन्डोस्कोपीको १५ सय र कोलोनोस्कोपीको २५ सय शुल्क लिने जनाएको छ । यो सेवाबाट बिरामीको अल्सर, ग्यास्ट्रिक, आन्द्राको क्यान्सर, पायल्स जस्ता रोगको सहज पहिचान हुने डा. दंगालको भनाई छ ।  

ग्रामीण पहाडी जिल्ला दोलखामै अत्याधुनिक उपकरण सहित कम शुल्कमा बिरामीले उपचार सेवा पाउन सकोस भन्ने उद्देश्यले अस्पतालले जिल्लामै पहिलो पटक इन्डोस्कोपी तथा कोलोनोस्कोपी सेवा सुरु गरेको अस्पताल सञ्चालक समितिका अध्यक्ष पृथ्वी बहादुर श्रेष्ठले बताउनुभयो । 

अस्पतालले च्छो– रोल्पा नर्सिङ कलेज समेत सञ्चालन गरेको उल्लेख गर्नुहुँदै अध्यक्ष श्रेष्ठले जिल्लालाई स्वास्थ्य क्षेत्रको हव बनाउने आफूहरूको उद्देश्य रहेको बताउनुभयो । 

अस्पतालको १७ औँ वार्षिक उत्सवको अवसरमा भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धरले अस्पताललाई सहयोग गर्ने विभिन्न संघ संस्था र अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सम्मानपत्र प्रदान गर्नु भएको थियो । सो अवसरमा अस्पतालको स्मारिका समेत विमोचन गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button