जनकपुरधामका शिव मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भिड

जनकपुरधाम । धार्मिक तथा सांस्कृतिक नगरी जनकपुरधामसहित धनुषाका भएका शिव मन्दिरहरूमा आज बिहानैदेखि भक्तजनहरूको ठूलो भिड लागेको छ ।
महाशिवरात्रिका दिन बिहानैदेखि जनकपुरधामको शिव चौकमा रहेको चतुर्भुज महादेव मन्दिर, स्वर्गद्वार स्मशानघाट, जनकपुरधामको चार कुनामा रहेको प्राचीन शिव मन्दिरहरू कपिलेश्वर महादेव, कुशेश्वर महादेव, धनुषाधामको धनुष मन्दिर, क्षिरेश्वरनाथ मन्दिरमा पूजा आराधना गर्ने भक्तजनहरूको ठूलो भिड लागेको छ ।

त्यस्तै महोत्तरीको जलेश्वरमा रहेको शिव मन्दिरमा पनि भक्तजनहरूको बिहानैदेखि लागेको छ ।
जलभित्र विराजमान हुने जलेश्वरनाथ मन्दिरको पानी महाशिवरात्रिमा बाहिर निकालेर शिवलिङ्गको दर्शनको व्यवस्था महाशिवरात्रिमा मात्र हुने गरेको छ ।

जलेश्वर महादेवको दर्शन गर्नका लागि भारतबाट पनि ठूलो सङ्ख्यामा भक्तजनहरू नेपाल आउने गरेका छन् ।
जनकपुरधामको प्राचीन शिव मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको अत्यधिक भिडलाई ध्यानमा राखेर प्रहरीले भक्तजनहरूलाई व्यवस्थित रुपमा पूजा आराधनाको लागि सहज बनाइनुका साथै ठाउँ ठाउँमा ट्राफिकको व्यवस्थापनलाई सहज बनाइएको छ ।

शिवको पवित्र मानिएको भाङ, धतुरो, बेलपत्र, फूल माला, दूध तथा जल अर्पण गर्ने काम भइरहेको छ । खास गरेर आजको दिन महिलाहरूले उपवास बसेर शिवको पूजा आराधना गर्ने चलन छ ।

भगवान् शिवको पूजा आराधना जुनसुकै वर्ग तथा उमेरका व्यक्तिहरूले गर्न मिल्ने भएकाले सबै उमेर समूहका शिवभक्तहरू शिवालयमा दर्शन गर्न आएका छन्
आजको दिन सच्चा मनले आदि देव महादेवको पूजा आराधना गर्दा सबै प्रकारको इच्छा आकाङ्क्षा पुरा हुने धार्मिक जनविश्वास रहेको छ ।









प्रतिक्रिया राख्नुहोस्