तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाम अन्तर्राष्ट्रिय व्यापार मेला शुरु

जनकपुरधाम । जनकपुरधामको ऐतिहासिक महत्त्वको तिरहुतिया गाछीमा आजदेखि जनकपुरधाम अन्तर्राष्ट्रिय व्यापार मेला शुरु भएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा शुरु भएको व्यापार मेलाको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले गर्नुभयो ।

महाभूकम्प, कोरोनापछि नेपालसहित विश्वमा देखा परेको आर्थिक मन्दीका कारणले सुषुप्त बनेको अर्थतन्त्रलाई गति दिनका लागि फागुन १४ गतेसम्म चल्ने व्यापार मेलामा १ सय ५० वटा स्टलहरू रहेका छन् । व्यापार मेलाको कूल १० लाख दर्शकले अवलोकन गर्ने विश्वास जनकपुरधाम उद्योग वाणिज्य सङ्घको रहेको छ ।

अन्तर्राष्ट्रिय व्यापार मेलामा स्थानीय उत्पादनका साथै, नेपाल, भारत, पाकिस्तान, बङ्गलादेशमा उत्पादित भएका विभिन्न प्रकारका सामाग्रीहरूको प्रदर्शन रहेको छ ।

मेलामा इलेक्ट्रिक अटोमोबाइल्स, इलेक्ट्रिक साइकल, कार, जीप, मोटरसाइकल, स्कुटर, विभिन्न प्रकारका लुगाफाटाहरू, खाद्यान्नका सामाग्रीहरू, फर्निचर, इलेक्ट्रिक तथा इलोक्ट्रोनिक्सका सामानहरू, घर निर्माणमा प्रयोग हुने विभिन्न सामानहरूको स्टलहरू रहेका छन् । यसका साथै मेलामा मिथिला पेन्ट्रि पनि आकर्षणको रुपमा रहेको छ ।

मेलालाई थप आकर्षित बनाउनका लागि विभिन्न प्रकारको मैथिली सहितका अन्य भाषाका सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरिएको छ ।

मेलाको उद्घाटन गर्नुहुँदै मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले यस्ता प्रकारको अन्तर्राष्ट्रिय मेलाले आर्थिक क्षेत्रलाई गति दिन तथा उद्योग व्यवसायको विकासमा ठूलो मद्दत पुग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button