तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी सरकारले मनायो पाँचौँ ‘स्थापना दिवस’

कास्की । गण्डकी प्रदेश सरकारले पाँचौँ स्थापना दिवस मनाएको छ । गण्डकी प्रदेश सरकार स्थापनाको पाँचौँ वर्ष पूरा भई छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको व्यवस्थापनमा आज (बिहीबार) स्थापना दिवस मनाएको हो ।

सो अवसरमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकारको पाँच वर्षको गतिविधि समेटिएको पुस्तक विमोचन गर्नुभएको छ । विमोचनपश्चात सभालाई सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले आम नागरिक र राजनीतिक व्यत्तित्वहरूको समन्वयमा प्रदेश सरकारले कदम चाल्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले यसअघिका सरकारले आधारशीला तयार गरिसकेको बताउँदै वर्तमान सरकारले कार्यान्वयनको पक्षमा लाग्नुपर्ने बताउनुभयो ।

यस्तै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेतृत्व पङ्तिमा रहेका व्यक्तिहरूले चुनौतीमा अवसर देख्नुपर्ने तर्क राख्नुभयो ।

उहाँले चुनौतीभित्र समस्या देख्ने व्यक्तिहरू सफल हुन नसक्ने भन्दै चुनौतीमा अवसर खोज्नुपर्ने बताउनुभयो ।

उहाँले आफू नेतृत्वको सरकारले संघीय सरकारसँग स्वायत्तताका लागि संघर्ष गरेको स्मरणसमेत गर्नुभयो । सो कार्यक्रममा निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सभामुख कृष्णप्रसाद धिताल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button