तपाईँ सुन्दै हुनुहुन्छः

एक लाख राशिको गुरिल्ला म्याराथनमा बुढा प्रथम

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको पाँचौँ सानीभेरी–मौराखारा–गुरिल्ला म्याराथनको उपाधि दुर्गाबहादुर बुढाले प्राप्त गर्नुभएको छ । 

पुरुष तर्फको ४६ किलोमिटर दुरीको म्याराथनमा ६१ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै रुकुमका बुढाले प्रथम स्थान प्राप्त गर्नुभएको हो । उहाँले चार घण्टा ५८ मिनेटको समयमा तोकिएको दुरी पार गर्नुभयो । बुढाले उपाधि सँगै एक लाख पुरस्कार राशि पनि प्राप्त गर्नुभएको छ । उहाँ लगायत अन्य स्थान हाँसिल गर्ने व्यक्तिलाई पूर्व मन्त्री तथा रुकुम प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा र कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले रकम, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।  

त्यसैगरी भोजपुरका उमेश राईले पाँच घण्टा चार मिनेटमा निर्धारित दुरी पार गरेर दोस्रो स्थान र रुकुम पश्चिमका अर्जुन कुमार बस्नेत पाँच घण्टा ११ मिनेटमा उक्त दुरी पार गरेर तेस्रो स्थान र पाँच घण्टा २१ मिनेटमा पार गरेर रुकुम पूर्वका हिमाल बुढाले चौथो स्थान हाँसिल गर्नुभयो । दोस्रो, तेस्रो र चौथो स्थान प्राप्त गर्न सफल धावकहरूलाई क्रमैसँग ७५ हजार, ४५ हजार र १५ हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले जानकारी दिनुभयो । प्रतियोगिताको दशौँ स्थानसम्म आउने प्रतियोगीहरूलाई जनही तीन हजार पुरस्कार दिइएको बताइएको छ । 

त्यसैगरी महिला तर्फको म्याराथनमा जुम्लाकी मञ्जु रावत प्रथम हुनुभएको छ । उहाँले निर्धारित ३४ किलोमिटरको दुरीमा २१ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै तीन घण्टा २४ मिनेटमा पार गर्नुभएको हो । । त्यसैगरी खोटाङकी प्रिया राईले तीन घण्टा ३४ मिनेटमा दुरी पार गरेर दोस्रो, जुम्लाकी राज्य लक्ष्मी रावतले तेस्रो, सुर्खेतकी बिन्दु हमालले चौथो स्थान प्राप्त गर्नुभएको छ ।  

प्रथम, दोस्रो, तेस्रो र चौथो स्थान प्राप्त गर्न सफल धावकहरूलाई क्रमशः ६० हजार, ४० हजार, २० हजार र १० हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । महिला तर्फ पनि दशौँ स्थान सम्म प्राप्त गर्ने प्रतियोगीहरूलाई जनही तीन हजार पुरस्कार प्रदान गरिएको छ ।

जनयुद्धको स्मरण र अग्लो स्थानमा रहेको पर्यटकीय स्थलको प्रचारको लागि गाउँपालिकाले हरेक वर्ष मौराखारा गुरिल्ला म्याराथन प्रतियोगिता सञ्चालन गर्दै आइरहेको गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धताका माओवादी गुरिल्लाहरू हिँडेको बाटोमा धावकलाई दौडाइएको हो । म्याराथनको पाँचौँ संस्करणको लागि राष्ट्रिय खेलकुद परिषद्ले १५ लाख र गाउँपालिकाको आठ लाख रुपैयाँ लगानी गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button