कृषि र पर्यटनको विकासका लागि मेला आयोजना गरिने
कास्की । कास्कीको मादी गाउँपालिका–८ मा पर्ने नागिधार र पाखुरीकोट, वडा नं १० मा पर्ने भाचोक गाउँको सङ्गमस्थल सोेँथर बेँसीमा कृषि र पर्यटनको विकासको लक्ष्यका साथ सोंथर बेँसी टारी बजार मेला आयोजना गरिने भएको छ ।
‘सोंथर बेँसी तथा त्यस क्षेत्रको प्रवर्द्धन, कृषि र पर्यटन’ भन्ने मूल नाराका साथ सोंथर बेँसी विकास समितिको आयोजनामा हुने मेला फागुन १ देखि ३ गतेसम्म चल्ने समितिका अध्यक्ष ओमप्रकाश गुरुङले जानकारी दिनुभयो ।
मेला स्थलको व्यवस्थापन, प्रचारप्रसार, अर्थ व्यवस्थापन लगायतका सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै उहाँले उद्घाटन समारोहमा विभिन्न स्थानबाट सांस्कृतिक झाँकी प्रदर्शन गरिने बताउनुभयो । करिब पाँच हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको मेलामा विशेषतः सोंथर बेँसी लगायत त्यस आसपासमा उत्पादित कृषिजन्य वस्तु तथा पशु-चौपायाहरूको प्रदर्शनी एवं बिक्री गरिनेछ ।
मेलामा खेलकुदतर्फ वडास्तरीय भलिबल प्रतियोगिता, खुल्ला छेलो/ठेलो प्रतियोगिता, रसी तान्ने प्रतियोगिता, सांस्कृतिकतर्फ खुल्ला सामूहिक नृत्य प्रतियोगिता, खुल्ला दोहोरी प्रतियोगिता, खुल्ला भजन प्रतियोगिता साथै स्थानीय युवा क्लबहरूको ठेटार नाच एवं चर्चित कलाकारहरूको प्रस्तुति रहने जनाइएको छ ।
भलिबल प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहलाई क्रमशः नगद ४० हजार र ३० हजार नगदसहित मेडल र ट्रफी प्रदान गरिनेछ भने मादी गाउँपालिकाभित्रका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीबिच सोंथर बेँसी विषयक वक्तृत्वकला प्रतियोगिता पनि गरिनेछ ।
मेलाकै अवसरमा नेपाल पर्यटन बोर्डसँग अन्तरक्रिया कार्यक्रम समेत गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । आजभन्दा साढे तीन दशकअघि निकै प्रख्यात यस मेलाको मुख्य प्रायोजन मादी गाउँपालिका कार्यालयले गरेको छ । सोंथर बेँसीमा हाल फार्म हाउस एवं केही घरबास समेत सञ्चालनमा छन् । फार्म हाउसमा बसेर नजिकै बार्दी खोलामा पौडी खेल्दै दुवाली थुनेर असला माछा मार्दै आनन्द लिन सकिन्छ ।
त्यस्तै नजिकै टारी खेतहरूमा गोठहरू पनि रहेकाले गोठमा खिर खाने जस्ता अनुभव लिने समेत व्यवस्था छ ।








प्रतिक्रिया राख्नुहोस्