तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीले सुक्खा बन्दरगाहसहित तीन योजना अनुगमन गर्नुहुने

फाइल तस्वीर

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कञ्चनपुरका प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाहदेखि निर्माणाधीन महाकाली कोरिडोरसम्मको सोमबार (भोलि) स्थलगत अनुगमन गर्ने हुनुभएको छ ।

सोमबार कञ्चनपुर आउन लाग्नुभएका प्रधानमन्त्री दाहालले सुक्खा बन्दरगाह, महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल र महाकाली करिडोरको अनुगमन गर्ने कार्यक्रम तय भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिनुभयो ।

‘प्रधानमन्त्रीज्यूको यहाँ निर्माणाधीन योजनाको अनुगमनका साथै दिउँसो महेन्द्रनगरमा आयोजित महोत्सव उद्घाटन गर्ने कार्यक्रम छ’, प्रजिअ अर्यालले भन्नुभयो, ‘भोलि नै जनयुद्ध दिवसको अवसरमा पनि यहाँ सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।’

त्यसैगरी दिउँसो प्रधानमन्त्री दाहालले यहाँ कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन गइरहेको १४औँ सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटनसमेत गर्ने कार्यक्रम रहेको छ ।

कोरोना कहरको दुई वर्षपछि यहाँ हुन लागेको पर्यटन महोत्सव उद्घाटन प्रधानमन्त्रीबाट हुने कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘कृषि, उत्पादन र स्वरोजगार, आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा यस क्षेत्रको औद्योगिक, आर्थिक क्षेत्रको प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी सुदूरपश्चिमको कला, संस्कृति संरक्षणका लागि साङ्गीतिक कार्यक्रमका साथै देउडा प्रतियोगितासमेत महोत्सवमा सञ्चालन हुनेछ ।

महोत्सवमा स्थानीय उत्पादन, बाल उद्यान, खाद्य तथा होटेलका स्टल रहनेछन् । वाणिज्य सङ्घले यहाँ विसं २०५७ देखि महोत्सव आयोजना गर्दै आएको बताउँदै मल्लले मेलालाई एक लाख सर्वसाधारणले अवलोकन गर्ने अपेक्षा गरिएको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button