नेपाल दूरसञ्चार प्राधिकरण कप फुटसल शुरु
काठमाडौँ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो रजत जयन्तीको अवसरमा आयोजना गरेको नेपाल दूरसञ्चार प्राधिकरण कप “अन्तर सेवा प्रदायक स्तरीय फुटसल प्रतियोगिता” आइतबारबाट शुरु भएको छ ।
काठमाडौँको बालुवाटारस्थित फुटसल कोर्टमा सुरु प्रतियोगितामा विभिन्न दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक सम्बद्ध संस्थाका दश टोलीको सहभागिता रहेको छ ।

नकआउट फर्म्याटमा सञ्चालन भएको प्रतियोगितामा दूरसञ्चार सेवा प्रदायकहरू नेपाल टेलिकम, एनसेल आजियाटा लिमिटेड, स्मार्ट टेलिकम प्रा.लि., भायानेट कम्युनिकेशन लिमिटेड, सुबिसु केवल नेट लिमिटेड, डिस मिडिया नेटवर्क, वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड, मर्कन्टायल कम्युनिकेसन लिमिटेड, सिजी कम्युनिकेसन लिमिटेड र ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेशन प्रा.लि. ले भाग लिएका छन् ।

आइतबारबाट भएको उद्घाटन खेलमा नेपाल टेलिकम र भायानेटले विजयी सुरुवात गरेका छन् ।
भायानेटले सुबिसु र नेपाल टेलिकमले सिजीलाई पराजित गर्दै विजयी सुरुवात गरेका हुन ।

नेपाल टेलिकमले सिजीलाई ६–४ र भायानेटले सुबिसुलाई ८–६ गोलअन्तरले पराजित गरेको हो ।
भायानेटलाई जिताउन रोहित गिरीले पाँच गोल गरे ।
सोमबार नेपाल टेलिकम र एनसेल, भायानेट र वर्ल्डलिंक तथा ब्रोडलिंक र डिस मिडिया तथा मर्कन्टायल र स्मार्ट टेलिकमबिच खेल हुने छ ।
प्रतियोगितामा उपाधि विजेता टोलीले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै उप–विजेता टोलीले साठी हजार र तेस्रो स्थान प्राप्त गर्ने टोलीले चालिस हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्था नेपाल दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक एवं खेल सञ्चालन समितिका सदस्य सुनिल खतिवडाले बताउनुभयो ।

यस्तै प्रतियोगितामा सर्वाधिक गोलकर्तालाई दश हजार रुपैयाँ प्राप्त गर्ने खतिवडाले बताउनुभयो ।
प्रतियोगितामा फागुन पाँच गते फाइनल खेल हुने छ ।
२०५४ फागुन २० गते स्थापना भएको नेपाल दूरसञ्चार प्राधिकरणले स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा अन्तर सेवा प्रदायक स्तरीय फुटसल प्रतियोगिताको आयोजना गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्