बिक्न छाडे जुम्ली रैथाने स्याउका बिरुवा

जुम्ला । चन्दननाथ नगरपालिका–२ जुम्लाका नर्सरी व्यवसायी हरि बहादुर कामीले हाल सम्म करिब ३० देखि ३२ लाखका जुम्ली स्याउका बिरुवा जिल्ला बाहिर निर्यात गरेका छन् । गाउँमै ‘राजेश फलफूल नर्सरी’बाट उत्पादित झण्डै ६५ हजार रैथाने जुम्ली स्याउका बिरुवा निर्यात गरेका हुन् ।
हरि बहादुरले नर्सरीमा करिब ९० हजार बढी बिरुवा उत्पादन गरेका थिए । मुस्किलले ६५ हजार बिरुवा बाहिरी जिल्लामा गएपनि २५ हजार बिरुवा अझै मौज्दात छन् । पछिल्लो समय क्षणिक लाभका लागि फुजी स्याउ खेती गर्ने र जुम्लाकै बिरुवा भनी बाहिरका बिरुवा बेच्ने बिचौलियाले जुम्ली रैथाने स्याउका बिरुवा बिक्री हुन छाडे ।
नर्सरी व्यवसायी कामीले भन्नुभयो,“जुम्ली बिरुवाको माग बढ्दो,विक्री घट्दो अवस्थामा छ । जुम्ली बिरुवाको नाम बेचेर बिचौलियाले बाहिरका बिरुवा धमाधम बेचिरहेका छन् । त्यसतर्फ स्थानीय सरकारको ध्यान छैन । आयातित बिरुवा क्षणिक उत्पादन बढी दिएपनि पछि समस्या निम्तिने गर्छ ।”
जुम्लामा स्याउ खेती विस्तार हुँदै गएपनि जुम्ली रैथाने जातका स्याउका बिरुवा बिक्न छोडेका छन् । बाहिरबाट आयातित बिरुवाको बिगबिगी बढेपछि जुम्ली स्याउका बिरुवा बिक्न मुस्किल हुन थालेको हो ।
आफ्नै लगानीमा व्यवसायी नर्सरी खेती गरेका हरि बहादुर बिरुवा बिक्न छोडेपछि चिन्तित छन् । नर्सरीमा करिब २५ जनालाई रोजगारी दिएका छन् । भने जिल्ला दररेट भन्दा ५० प्रतिशत सस्तो रेटमा बिरुवा दिँदा पनि बजारमा जुम्ली रैथाने स्याउका बिरुवा बिक्री हुन मुस्किल भएको उहाँको भनाई छ ।

जुम्ली रैथाने स्याउ, ओखर, नास्पाती, आरु, आरुबखडा, खुर्पानी, लगायत फलफूलका ग्राफ्टिङ तथा रुटस्टक बिरुवा सस्तोमा नेपालभर ढुवानी गर्न सकिने राजेश फलफूल नर्सरीका सञ्चालक राजेश विश्वकर्माले बताउनुभयो ।
उहाँले भन्नुभयो,“बिरुवा उत्पादन ५० लाख सम्मको भएको हो । तर अहिलेसम्म निर्यात ३५ लाख सम्म मात्रै भएको छ । १५÷२० लाखका बिरुवा थन्किएका छन् । माग बढ्पनि आपूर्ति बाहिरबाट भइरहेको छ । जुम्ली बिरुवाको विक्रीलाई सहज गर्न र आयातित बिरुवा रोक्न स्थानीय सरकारको ठोस नीति आवश्यक छ ।”
आयातीत बिरुवाले पछि राम्रो उत्पादन नदिने र रैथाने बिरुवाले जति वर्ष पुरानो भयो त्यति नै बढी उत्पादन वृद्धि गर्ने कुरा किसानले अझै बुझ्न नसकेको उहाँको भनाई छ ।
रैथाने बिरुवाको विक्री ठप्पै नभएपनि तुलनात्मक निर्यात र जिल्लामा विक्री ह्वात्तै घटेको छ । ओखर कमलीसहित प्रति बिरुवा ६५० रुपैयाँ र स्याउको प्रति बिरुवा ६० रुपैयाँमा बिक्री हुँदै आएको छ ।
कुल ९ हजार ५ सय वर्ग मिटर जग्गामामा फैलिएको नर्सरीबाट जुम्ला नै धान्ने फलफूलका बिरुवा उत्पादन गर्न सक्ने सामर्थ्य रहेको नर्सरी व्यवसायी हरि बहादुर कामीको दाबी छ । यद्यपि,पछिल्लो समय सरकारी संयन्त्रको कमजोरी र नियमन नभएकै कारण जुम्लाको नाम बचेर बाहिरको बिरुवा बिक्री बढेपछि समस्या निम्तिएको छ ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश बहादुर अधिकारीले रैथाने स्याउका बिरुवाको विक्रीलाई सहज बनाउन तर्फ स्थानीय सरकारले ठोस नीति लिनुपर्ने बताउनुभयो । उहाँका अनुसार क्षणिक लाभका लागि आयातित बिरुवाको माग र विक्री बढेको देखिन्छ । किसानलाई रैथाने बिरुवाको खेतीको फाइदाबारे आवश्यक सचेतना जरुरी छ ।








प्रतिक्रिया राख्नुहोस्