तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिको सवालमा सहमतिकै पक्षमा छौँ : पूर्वप्रधानमन्त्री नेपाल

अत्तरिया I नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताउनुभएको छ । पार्टीको प्रदेश कमिटीको बैठकमा सहभागी हुन धनगढी आइपुग्नुभएका उहाँले आज आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो । 

“सबै पार्टीलाई समेटेर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “हाम्रो पार्टीको धारणा पनि विचार मिल्नेसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो । मुलुकलाई निकास दिनका लागि सहमतिमा अगाडि बढ्न सके सबैभन्दा राम्रो हुन्छ ।”संविधान, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि प्रधानमन्त्रीले सहमतिमै अगाडि बढ्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री नेपालले  राजनीतिक प्रकृतिका मुद्दा थन्क्याएर राख्नुभन्दा  छिटो टुङ्गाउनु राम्रो हुने बताउनुभयो । 

प्रदेशको हकमा सुदूरपश्चिममा अहिलेको सरकारलाई विश्वासको मत दिलाउनुपर्ने र सबैलाई समेटेर जानुपर्नेमा सुझाव दिँदै उहाँले मध्यवधि निर्वाचनतर्फ जान नहुने र यसलाई  मुलुकले आर्थिक हिसाबले पनि धान्न नसक्ने उल्लेख गर्नुभयो ।  

सुदूरपश्चिममा नेकपा (एमाले) नेतृत्वको बनेको सरकार विश्वासको मत पाउन नसकेपछि एक महिनामै ढलेको र फेरि अहिले नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन भएको छ ।

कांग्रेस नेतृत्वको सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button