संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको कार्यसमिति चयन : अध्यक्षमा खड्का निर्विरोध

काठमाडौँ । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा कालिका खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
आज सम्पन्न मञ्चको साधारण सभाले खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।उपाध्यक्षमा दीपक खरेल, महिला उपाध्यक्षमा भाषा शर्मा, महासचिवमा निराजन पौडेल चयन हुनुभएको छ ।
यस्तै, सचिवमा शिल्पा कर्ण, कोषाध्यक्षमा बासु खड्का र सदस्यहरू सविन धमला र अर्जुन श्रेष्ठ चयन हुनुभएको छ ।
मञ्चको साधारण सभामा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले कानुन पत्रकारहरूले समाचार लेख्दा र सम्पादन गर्दा पत्रकार आचारसंहिता उलङ्घनका घटना कम हुने गरेको बताउनुभयो । उहाँले कानुन क्षेत्रमा कलम चलाउने पत्रकारहरू कानुनका विद्यार्थी समेत भएकाले परिपक्व र अनुभवी भएको स्मरण गराउनुभयो ।

अनलाइन खबरका प्रधान सम्पादक शिव गाउँलेले कानुन क्षेत्रको रिपोटिङमार्फत अदालतका समाचारलाई जनतासम्म सम्प्रेषण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
उहाँले विगतमा भन्दा अहिले पत्रकारिताको क्षेत्र फराकिलो भएको र कानुनी क्षेत्रको रिपोटिङमा मञ्चको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्